तरुण खबर
२३ पुष २०८२, बुधबार ११:२९
पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीका तारहरू भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम तीव्र गतिमा भइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्धारदेखि सेतीपुलसम्मको क्षेत्रमा काम सकिसकेको छ भने अन्य क्षेत्रमा पनि विद्युत् तार भूमिगत गर्ने कार्य निरन्तरता पाएको छ।
नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा “पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना” सञ्चालन गर्दै आएको छ। सो परियोजनाले पोखरामा तीन वर्षदेखि काम गर्दै आएको छ।
आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक, रत्नचोक, राष्ट्र बैंक चोक, शहिद चोक, लेकसाइड, हल्लन चोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा हाल विद्युत् तार भूमिगत गर्ने काम भइरहेको छ। परियोजनाको हालसम्म ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने न्यूरोड क्षेत्रमा केही समयपछि काम सुरु हुनेछ।
सुवेदीले भने, “पोखराको बिजुलीको स्रोत कुँडहर सबस्टेशनदेखि काम सुरु गरेर पूर्वमा विमानस्थलद्वार र पश्चिममा सेतीपुलसम्मको क्षेत्रमा काम सकिएको छ। बाँकी क्षेत्रका लाइन चार्ज गर्न बाँकी छ, तर अन्य क्षेत्रमा तीव्रताका साथ काम अघि बढाइएको छ।”
निर्माणको म्याद आगामी जुन ३१ गतेसम्म रहेको छ र सो समयसम्म सबै काम सम्पन्न हुने विश्वास लिइएको छ। यस परियोजना सन् २०२२ मा सुरु भएको हो। सुरुआती चरणमा डिजाइन, भूगर्भ अध्ययन र योजना तयारीमा समय लागेपछि काम एक वर्षपछि मात्र सुरु भएको थियो।
पोखराको २३ किमी क्षेत्रको बिजुली तार भूमिगत गर्न १ अर्ब ७० करोड रुपैयाँ बजेटमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्ससँग ठेक्का सम्झौता गरिएको छ। त्यस्तै, भरतपुरको काम ७४ प्रतिशत सम्पन्न भइसकेको छ र यसको लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ।


