तरुण खबर
२३ पुष २०८२, बुधबार ११:३२
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार नगद जरिवाना गरेको छ। विभागले स्थलगत निरीक्षणका क्रममा भेटिएका उल्लङ्घनका आधारमा मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज, चाँगुनारायण–२, भक्तपुरलाई २ लाख रुपैयाँ र श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि, काठमाडौंलाई ५० हजार रुपैयाँ बराबरको जरिवाना गरेको हो।
विभागका अनुसार यी उद्योगहरूले उपभोक्ता संरक्षण ऐनको दफा १६ (२) क र दफा ३८ बमोजिमको कसुर गरेका थिए। सोही ऐनको दफा ३९ (१) ख अनुसार कारवाही गरिएको विभागले जनाएको छ।
यसअघि विभागले काठमाडौँ र भक्तपुरका विभिन्न १७ वटा उद्योग र फर्ममा अनुमगन निरीक्षण गरेको थियो। तीमध्ये १५ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको थियो।
स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीहरूको सहभागितामा विभागले निरन्तर रूपमा अनुमगन र निरीक्षण गर्दै उपभोक्ताको हित सुनिश्चित गर्ने काम गरिरहेको छ। यस प्रकारको कदमले उपभोक्ता हितमा उद्योगहरूलाई सचेत गराउने अपेक्षा गरिएको छ।


