भिजिट भिसामा अमेरिका जान नेपालीले पाँचदेखि १५ हजार डलर धरौटी राख्नुपर्ने

भिजिट भिसामा अमेरिका जान नेपालीले पाँचदेखि १५ हजार डलर धरौटी राख्नुपर्ने तरुण संवाददाता २३ पुष २०८२, बुधबार १६:०३
भिजिट भिसामा अमेरिका जान नेपालीले पाँचदेखि १५ हजार डलर धरौटी राख्नुपर्ने

काठमाडौँ। नेपाली नागरिकले अब पर्यटक र व्यापारिक प्रयोजनका लागि अमेरिका जान पाँच हजारदेखि १५ हजार डलर धरौटी बुझाउनुपर्ने भएको छ।

अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार नेपालसहित ३८ राष्ट्रका नागरिकलाई नयाँ भिसा बन्ड (धरौटी) व्यवस्था लागू हुने भएको हो। यो व्यवस्था जनवरी २१ देखि कार्यान्वयनमा आउनेछ।

नयाँ नियमअनुसार बी वान (पर्यटक) र बी टु (व्यापार) भिसा स्वीकृत भएपछि कन्सुलर अधिकारीले धरौटी रकम पाँच हजार, १० हजार वा १५ हजार अमेरिकी डलरमध्ये एक निर्धारण गर्नेछन्। हालको विनिमय दरअनुसार यो रकम करिब सात लाख २० हजार रुपैयाँदेखि २१ लाख ६० हजार रुपैयाँसम्म पर्छ।

यसअघि मन्त्रालयले गत अगस्टमा परीक्षण स्वरूप केही देशमा भिसा बन्ड लागू गरेको थियो। हाल नेपाल, भुटान, बंगलादेश, क्युबा, फिजी, नामिबिया, नाइजेरिया, सेनेगल, ताजिकिस्तान, युगान्डा, भेनेजुएला, जिम्बावे, जाम्बियालगायत देशका नागरिकलाई यो व्यवस्था लागू हुनेछ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, धरौटी भुक्तानीको प्रक्रिया अमेरिकी ट्रेजरीको सरकारी अनलाइन प्रणाली (पे डट जीओभी) मार्फत गर्नुपर्नेछ। कुनै पनि तेस्रो पक्षको वेबसाइटबाट रकम बुझाउँदा भिसा प्राप्त हुने ग्यारेन्टी नहुने चेतावनी पनि जारी गरिएको छ।

धरौटी बुझाउने व्यक्तिहरूले अमेरिका प्रवेश गर्दा र बाहिरिँदा बोस्टन लोगन, जोन एफ। केनेडी वा वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक मात्र प्रयोग गर्नुपर्नेछ।

तोकिएको समयमै अमेरिका फर्किए धरौटी फिर्ता हुनेछ। तर भिसा अवधि नाघेर बस्ने, भिसा श्रेणी परिवर्तन गर्ने वा शरण दाबी गर्ने प्रयास भएमा धरौटी जफत हुने व्यवस्था छ। अमेरिकी सरकारले धरौटीको व्यवस्था भिसा अवधि नाघेर बस्ने प्रवृत्ति घटाउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।