साना सिन्काले ठूलो आयात, टुथपिकमा ५ महिनामा २८ लाख खर्च

साना सिन्काले ठूलो आयात, टुथपिकमा ५ महिनामा २८ लाख खर्च तरुण खबर २४ पुष २०८२, बिहीबार ११:१०
साना सिन्काले ठूलो आयात, टुथपिकमा ५ महिनामा २८ लाख खर्च

नेपाली बजारमा दैनिक प्रयोग हुने सानो वस्तु दाँत कोट्याउने सिन्का (टुथपिक) ले पनि उल्लेख्य आयात रकम खपत गरेको छ। चालु आर्थिक वर्ष २०८२–८३ को मंसिर मसान्तसम्मको ५ महिनामा नेपालमा टुथपिक आयात गर्दा २८ लाख ५ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा कुल २४ हजार २६६ केजी टुथपिक आयात भएको छ। यस आयातबाट सरकारले ३२ लाख ८ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ।

आयात भएका टुथपिकमध्ये बाँसबाट बनेका टुथपिकको हिस्सा बढी देखिएको छ। बाँसबाट बनेका १४ हजार ९६८ केजी टुथपिक को आयात मूल्य ५२ लाख ५० हजार रुपैयाँ रहेको छ, जसबाट सरकारले १९ लाख ८२ हजार रुपैयाँ राजश्व उठाएको छ।
त्यसैगरी काठबाट बनेका टुथपिक ९ हजार २९८ केजी आयात भएका छन्, जसको मूल्य २९ लाख ५५ हजार रुपैयाँ रहेको छ। यसबाट १२ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ।

देशगत रूपमा हेर्दा नेपालमा आयात हुने टुथपिकमध्ये लगभग सबै चीनबाट आयात भएको देखिन्छ। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म चीनबाट मात्र २४ हजार २६६ केजी टुथपिक आयात भएको छ, जसको मूल्य ८१ लाख ६० हजार रुपैयाँ छ। चीनबाट भएको आयातबाट सरकारले ३१ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

चीनबाट आयात भएको बाँसको टुथपिक १४ हजार ९१८ केजी रहेको छ, जसको मूल्य ५२ लाख ३२ हजार रुपैयाँ छ। यसबाट मात्रै १९ लाख ७२ हजार रुपैयाँ राजश्व उठेको छ।
त्यसैगरी चीनबाट काठको टुथपिक ९ हजार ४६ केजी आयात भएको छ, जसको मूल्य २९ लाख ३७ हजार रुपैयाँ छ र यसबाट ११ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन भएको छ।

यस अवधिमा भारतबाट भने न्यून मात्रामा टुथपिक आयात भएको छ। भारतबाट १०० केजी टुथपिक आयात हुँदा यसको मूल्य ३४ हजार रुपैयाँ रहेको छ। यसबाट सरकारले १२ हजार रुपैयाँ राजश्व उठाएको छ।
भारतबाट आयात भएकोमध्ये बाँसको टुथपिक ५० केजी (२७ हजार रुपैयाँ) रहेको छ, जसबाट १० हजार रुपैयाँ राजश्व संकलन भएको छ। बाँकी ५० केजी काठको टुथपिक (७ हजार रुपैयाँ) बाट ३ हजार रुपैयाँ राजश्व उठेको छ।

त्यस्तै थाइल्यान्डबाट काठबाट बनेको २०२ केजी टुथपिक आयात भएको छ, जसको मूल्य ११ हजार रुपैयाँ रहेको छ। यस आयातबाट सरकारले ३१ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ।