दललाई सहज पहुँच : शुल्क तिरेर देशभरको मतदाता विवरण उपलब्ध

दललाई सहज पहुँच : शुल्क तिरेर देशभरको मतदाता विवरण उपलब्ध तरुण खबर २५ पुष २०८२, शुक्रबार ११:२०
दललाई सहज पहुँच : शुल्क तिरेर देशभरको मतदाता विवरण उपलब्ध

निर्वाचन आयोगले दर्ता भएका राजनीतिक दलहरूलाई निश्चित शुल्क तिरेर देशभरका मतदाताको विवरण उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकामा उल्लेखित प्रावधानअनुसार अब दलहरूले आफ्नो आवश्यकता अनुसार मतदाता नामावलीको विद्युतीय प्रतिलिपि प्राप्त गर्न सक्ने भएका हुन्।

आयोगका अनुसार कुनै राजनीतिक दलले देशभरको मतदाता नामावलीको विद्युतीय प्रतिलिपि लिन चाहेमा औपचारिक पत्रसहित १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यसरी उपलब्ध गराइने विवरणमा मतदाताको नाम, ठेगाना लगायतका सामान्य जानकारी रहनेछ भने जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरजस्ता संवेदनशील विवरणहरू समावेश गरिने छैनन्। आयोगले उक्त डाटा हार्डड्राइभ वा पेनड्राइभमार्फत हस्तान्तरण गर्ने जनाएको छ।

यसैगरी, कुनै एक प्रदेशको मतदाता विवरण मात्र आवश्यक परेमा ५ हजार रुपैयाँ शुल्क तिरेर प्राप्त गर्न सकिनेछ। निर्वाचन अधिकृतहरूले मतदाता, राजनीतिक दलका प्रतिनिधि वा उम्मेदवारहरूलाई मतदाता नामावली हेर्ने सुविधा उपलब्ध गराउनुपर्ने र आवश्यक परे आफ्नै खर्चमा प्रतिलिपि बनाउन दिनुपर्ने व्यवस्था गरिएको छ।

निर्देशिकाअनुसार फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउनेछन् भने फोटोबिनाको मतदाता नामावली भने जोसुकैले निरीक्षण गर्न सक्नेछ। यदि कुनै व्यक्तिले आफ्नो मात्र मतदाता विवरणको प्रतिलिपि चाहेको अवस्थामा निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिएर सोही मतदातासम्बन्धी विवरण मात्र समावेश भएको प्रतिलिपि उपलब्ध गराउनेछ।

यस्तै, जिल्लाभर वा कुनै एक निर्वाचन क्षेत्रको मतदाता नामावलीका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ। तर यस्तो प्रतिलिपि उपलब्ध गराउँदा पनि मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकता नम्बरजस्ता संवेदनशील विवरणहरू भने समावेश नगरिने आयोगले स्पष्ट पारेको छ।