तरुण खबर
२५ पुष २०८२, शुक्रबार ११:३०
नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता (एआई) नीति र औद्योगिक विकासमार्फत नेपालको डिजिटल भविष्य निर्माणका विषयमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितिमा सूचना प्रविधि क्षेत्रसँग आबद्ध दुई दर्जनभन्दा बढी संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा नेपालमा एआई प्रविधिको प्रभावकारी उपयोग, स्पष्ट नीति, कानुनी सहजता र डेटा सुरक्षालाई सुनिश्चित गर्दै डिजिटल भविष्य निर्माण गर्न सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच साझा समझदारी आवश्यक रहेकोमा सहभागीहरूले जोड दिए।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सुशासन प्रवर्द्धनका लागि सूचना प्रविधिको विकास अपरिहार्य रहेको बताए। उनले सरकारी सेवालाई चुस्त, प्रभावकारी र पारदर्शी बनाउन तथा आर्थिक पारदर्शिता कायम गर्न आईटी र एआई प्रविधिको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले एआई केवल प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाको बलियो आधार बन्दै गएको बताए। डिजिटल रूपान्तरणमार्फत सार्वजनिक सेवा प्रभावकारी बनाउने, व्यवसायिक लागत घटाउने र निर्णय प्रक्रियामा पारदर्शिता ल्याउन एआईको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो।
अध्यक्ष अग्रवालले एआईको प्रयोगबाट कृषि, स्वास्थ्य, शिक्षा, वित्त, ऊर्जा तथा सार्वजनिक सेवामा गुणस्तर सुधार गर्दै सीमित स्रोतबाट अधिकतम उपलब्धि हासिल गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, चेम्बरले सरकार र निजी क्षेत्रबीच विश्वसनीय पुलको भूमिका निर्वाह गर्दै एआई नीति निर्माण र कार्यान्वयनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटी विकासमार्फत दिगो आर्थिक विकास सम्भव हुने बताए। सार्वजनिक–निजी साझेदारीमार्फत आईटी क्षेत्रको विस्तार गर्न सकिए युवाको वैदेशिक पलायन रोक्न सकिने उनको भनाइ थियो।
अन्तरक्रियामा सहभागी विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले एआई नीतिको प्रभावकारिता, कानुनी जटिलता, डेटा सुरक्षा र साइबर जोखिमजस्ता विषयमा आफ्ना धारणा राखेका थिए।
यसै क्रममा नेपाल चेम्बर अफ कमर्सको आईटी, सफ्टवेयर तथा टेक्नोलोजी समिति र युनियन अफ इन्फरमेशन कम्युनिकेशन एण्ड टेक्नोलोजी नेपालबीच सूचना प्रविधि र एआई क्षेत्रमा सहकार्य गर्ने सम्झौता पनि सम्पन्न भएको छ। सम्झौतामा चेम्बर आईटी समिति सभापति विज्ञान श्रेष्ठ र युनियनका महासचिव कुशल रेग्मीले हस्ताक्षर गरेका छन्।


