तरुण खबर
२५ पुष २०८२, शुक्रबार ११:३३
जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४, केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ। हाल सो सडक खण्डको नौ किलोमिटर सडक पक्की बनिसकेको छ।
कुल १४ किलोमिटर सडकमध्ये यसअघि सात किलोमिटर कालोपत्र गरिएको थियो भने हाल प्रदेश सरकारको बजेटबाट दुई किलोमिटर सडक ढलान गरिएको हो। गण्डकी प्रदेश सरकारले रु पाँच करोड लागतमा नाला निर्माण, सडक विस्तार र कालोपत्र गर्ने कार्य अघि बढाएको थियो। वडाध्यक्ष काजीमान श्रेष्ठका अनुसार “एक सातादेखि उक्त खण्डमा सवारी आवतजावत रोकिएको थियो। अब केशवटार–कुलुड हुँदै दमौली जाने मार्ग सहज हुने छ।”
दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोड्ने चक्रपथका रूपमा सडक विकासको योजना पनि अघि बढाइएको छ। सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रम अन्तर्गत विश्व बैंकको रु ६ करोड ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भएर दोस्रो चरणका लागि प्रक्रिया सुरु भएको योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए।
नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार गण्डकी प्रदेश सरकारले रु एक करोड बजेट पुन: विनियोजन गरेको छ भने केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि नगरपालिकाले हालसम्म करिब रु चार करोड बजेट विनियोजन गरिसकेको छ।


