तरुण खबर
२५ पुष २०८२, शुक्रबार ११:३७
नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) को दोस्रो वार्षिकोत्सवका अवसरमा ललितपुरको भैँसेपाटीमा आयोजित विशेष समारोहमा क्यानलाई संस्थागत र व्यक्तिगत रूपमा सम्मान प्रदान गरिएको थियो।
सो अवसरमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी व्यावसायिक आईसीटी प्रशिक्षणको आधार तयार पार्ने र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा सम्मानित भए भने महासचिव चन्द्र विलास भुर्तेल पाठ्यक्रम मस्यौदा उपसमितिको संयोजकका रूपमा प्रशंसनीय कार्य गरेकोमा सम्मानित भएका थिए।
सम्मान वितरण समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी, श्रम सचिव एवं राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिका अध्यक्ष डा. दीपक काफ्ले र प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखतीले संयुक्त रूपमा सम्मान पत्र प्रदान गरे।
कार्यक्रमले नेपाली आईसीटी क्षेत्रमा क्यान महासंघको योगदानलाई औपचारिक रूपमा मान्यता दिने र डिजिटल दक्ष जनशक्ति उत्पादनमा यसको भूमिका उजागर गर्ने अवसर प्रदान गरेको बताइएको छ।


