खोपको विकल्पमा नेपालमा कहिले आउला ट्याब्लेट

खोपको विकल्पमा नेपालमा कहिले आउला ट्याब्लेट तरुण खबर १३ श्रावण २०७८, बुधबार ०९:१५
खोपको विकल्पमा नेपालमा कहिले आउला ट्याब्लेट

काठमाडौं । २ करोड ९६ लाख ९४ हजार १२ जनसंख्या भएको नेपालमा ६ लाख ८५ हजार ६७३ जना कोरोनाभाइरसका कुल संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जनालाई संक्रमण निको भैसकेको छ । कुल संक्रमितमध्ये २८ हजार ८३६ जना मात्र सक्रिय संक्रमित छन् । २०७८, साउन १३ गते बिहान ६.०० बजेसम्ममा ९ हजार ७५८ जनाको मृत्यु भएको छ । कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा नआउँदै दैनिक थपिने संक्रमितको संख्या ह्वात्तै बढेको छ । मन्त्रालयका अनुसार अहिले डेल्टा भेरियल्ट र यसको म्युटेन्ट डेल्टा प्लस सक्रिय देखिएको छ । देशभरबाट संकलन गरिएको ४७ वटा नमुना जिन सिक्वेन्सिङका लागि ३० असारमा भारत पठाइएको थियो । सबै नमुनामा डेल्टा भेरियन्ट पाइएको छ । त्यसमध्ये ३ वटामा डेल्टा प्लस म्युटेन्ट पाइएको छ ।

हालसम्म नेपालमा अल्फा, डेल्टा र कप्पा भेरियन्ट भेटिएको छ, जुन बढी संक्रामक मानिन्छ । मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गर्न र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न समेत आग्रह गरेको छ । पहिलेभन्दा संक्रामक रहेको डेल्टा भेरियन्ट समुदायमै रहिरहेको अवस्थामा निषेधाज्ञा खुकुलो बन्दा संक्रमण बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताएका छन् । ‘निषेधाज्ञा खुकुलो बन्दै जाँदा धेरै मानिस बाहिर निस्किए । तर उनीहरुले जनस्वास्थ्यका मापदण्ड पालना गरेनन् । जसले गर्दा संक्रमण बढेको देखिन्छ– डा. बास्तोलाले सञ्चार माध्यमलाई भनेका छन् । खोप लगाउने क्रममा खोप केन्द्रहरुमा भीडभाड बढ्न जाँदा खोप लगाएका केही व्यक्तिहरुमा पनि संक्रमण देखिएको उनले बताए ।

नेपालमा कोभिड– १९ को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै परीक्षणका लागि भारतमा पठाइएका ४७ वटै नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको जानकारी दिएका हुन् । तीममध्ये तीनवटामा थप उत्परिवर्तन रूप देखिएको छ ।

यो बढी संक्रामक हुने र सबै उमेर समूहका व्यक्तिमा असर देखिने भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड ख्याल गर्न आग्रह गरेको छ । कोभिड– १९ को तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

खोप खरिदका लागि गोप्य सहमति
अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप खरिदका लागि नेपालले ’नन–डिस्क्लोजर अग्रीमन्ट’ मा हस्ताक्षर गरेको अधिकारीहरूले बताएका छन् । सरकारले कोभिड–१९ विरुद्धका सबै खोप प्राप्तिका लागि पहल गरेको अवस्थामा फाइजरसँग पनि “एक तहको समझदारी भइसकेको“ र उक्त खोप खरिद गर्नका लागि “स्रोतको पनि जोहो भइसकेको“ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिएका छन् । अमेरिकासहित केही मुलुकमा फाइजर–बायोएनटेकले विकास गरेको खोप १२ वर्षमाथिका उमेर समूहमा पनि प्रयोगमा ल्याइएको छ । नेपालमा पनि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका मानिसलाई उक्त खोप दिने लक्ष्य राखेको अर्यालले जानकारी दिए । सरकारले बालबालिकाको संख्याका आधारमा ६० लाख फाइजर खोप प्राप्तिका लागि पहल अघि बढाइएको बताइएको छ । त्यसबाहेक कोभ्याक्स सुविधामार्फत् थप ४० लाख मात्रा फाइजर खोप नेपालमा ल्याउने तयारी भइरहेको अधिकारीहरू बताउँछन् ।

तर आइएसआरले कोभिड–१९ विरुद्ध सुख्खा पाउडर स्वरूपको खोप विकासको प्रयास गरिरहेको छ । यसले प्रयोगशालामा निर्माण गरिने कोभिड–१९ भाइरस प्रोटिनको प्रयोग गर्छ र त्यस्ता प्रोटिनले ४० डिग्री सेल्सियस तापक्रमसम्म थेग्नसक्ने बताइन्छ । फाइजर, मोडेर्ना र अष्ट्राजेनेकाले यी प्रोटिनका लागि आरएनए वा डीएनए कोड प्रयोग गर्छन् । सुख्खा पाउडर भण्डारण गर्नका लागि आवश्यक सर्तहरू विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म अनुमति दिएका तरल खोपहरू भन्दा फरक छन् ।

उक्त खोपले अहिले डब्ल्यूएचओले सूचीकृत गरेका खोपकै स्तरमा सुरक्षा दिन्छ कि दिँदैन भन्ने पनि परीक्षणहरूले बताउने भनिएको छ । अहिलेसम्म यो परीक्षण मुसामा मात्रै गरिएको छ । आइएसआर र आइकोनोभोले आगामी दुई महिनाभित्रै मानवमा पनि परीक्षण गर्नका लागि आवश्यक आर्थिक स्रोत जुटाएका छन् ।