प्रभू बैंकमा नेतृत्वको निरन्तरता कि नयाँ बहस?

प्रभू बैंकमा नेतृत्वको निरन्तरता कि नयाँ बहस? तरुण खबर २८ पुष २०८२, सोमबार ११:३७
प्रभू बैंकमा नेतृत्वको निरन्तरता कि नयाँ बहस?

मुलुकमा च्याउसरी बढेका वित्तीय संस्थालाई एकत्रित गर्दै ठूलो र बलियो बैंक निर्माणमा महत्वपूर्ण योगदान दिएका सीमित व्यक्तित्वमध्ये अशोक शेरचन एक हुन्। हाल प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका शेरचनले वाणिज्य बैंकका रूपमा प्रभूलाई ११ वर्षदेखि नेतृत्व गरिरहेका छन्।

२०७९ माघ १८ गतेबाट सुरु भएको उनको तेस्रो कार्यकाल अब करिब साढे १२ महिनापछि सकिँदैछ। तर कार्यकाल अझै बाँकी रहँदै केही सञ्चालक समूहले उनलाई हटाउने उद्देश्यले नियोजित रूपमा “मिडिया ट्रायल” सुरु गरेको आरोप बैंकको उच्च व्यवस्थापकीय नेतृत्वले लगाएको छ। यस विषयले प्रभू बैंकभित्र नेतृत्वको निरन्तरता र संस्थागत स्थायित्वबारे बहस चर्किएको छ।

अशोक शेरचनले करिब दुई दशकदेखि प्रभू समूहको नेतृत्व सम्हाल्दै आएका छन्। करिब १८ वर्षअघि तत्कालीन प्रभू फाइनान्सको सिइओ बनेपछि उनको नेतृत्वमै संस्था निरन्तर अघि बढ्यो। विकास बैंकलाई फाइनान्स कम्पनीमा मर्ज गरी प्रभू विकास बैंक बनाउँदा पनि शेरचन नै सिइओ रहे। त्यसपछि जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किष्ट बैंक गाभिँदा पनि नेतृत्व उनकै हातमा रह्यो। पछिल्लो पटक सेन्चुरी बैंक प्राप्तिपछि उनलाई तेस्रो कार्यकालका लागि वाणिज्य बैंकको सिइओका रूपमा निरन्तरता दिने निर्णय भएको थियो।

तर पछिल्ला महिनामा प्रभु म्यानेजमेन्ट प्रालिमा लगानी भएको २७ करोड रुपैयाँ कर्जा दुरुपयोग प्रकरणमा उनी विवादमा तानिए। सोही प्रकरणमा शेरचन मङ्सिर १४ गतेदेखि पुस ११ गतेसम्म २७ दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा बसे। यद्यपि, मुद्दा दायरसमेत नभइसकेको अवस्थामा उच्च व्यवस्थापकलाई पक्राउ गर्ने परिपाटीको विरोध बैंकिङ क्षेत्रमै भइरहेको छ।

यसबीच, प्रहरी कारबाहीलाई आधार बनाएर केही सञ्चालकहरूले शेरचनलाई पुनः व्यवस्थापकीय जिम्मेवारीमा फर्कन नदिन प्रयास थालेको बुझाइ प्रभू बैंकका शेरचन समर्थित उच्च व्यवस्थापकहरूको छ। कार्यकाल बाँकी रहँदै र राजीनामा नदिएको अवस्थामा पनि नयाँ सिइओ खोजी भइरहेको भन्ने समाचारहरू सार्वजनिक भएपछि बैंकभित्र असन्तुष्टि देखिएको छ।

अपुष्ट चर्चाअनुसार नबिल बैंक छाडेका ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र एनएमबी बैंकमा दुई कार्यकाल नेतृत्व गरिसकेका सुनिल केसीको नाम सम्भावित सिइओका रूपमा अघि सारिएको छ। यी दुवै नेपाल बैंकर संघका पूर्व अध्यक्ष हुन्। तर केसीले हाल प्रभू बैंकको नेतृत्व सम्हाल्ने तयारीमा नरहेको स्पष्ट गरेका छन्। ढुङ्गानाले पनि आफू कुनै सिइओ दौडमा नरहेको र बैंकका सञ्चालकहरूसँग कुनै छलफल नभएको बताएका छन्।