तरुण खबर
२९ पुष २०८२, मंगलवार ११:१४
निगालो होटल लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ। यसका लागि कम्पनीले विक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।
सम्झौतासम्बन्धी औपचारिक कार्यक्रममा निगालो होटल लिमिटेडका अध्यक्ष टिका राज बराल र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेलको पनि उपस्थिति रहेको थियो।
नगरकोटमा अवस्थित परम्परागत तथा सांस्कृतिक शैलीको वास्तुकलामा निर्माणाधीन चार तारे निगालो होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवालाई संयोजन गर्दै बजारमा फरक पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ।
होटल परिसरबाट हिमालसहित काठमाडौं, भक्तपुर र ललितपुर उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने विशेष भ्यू टावरलाई होटलको प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। यस परियोजनाले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सञ्चालनको अन्तिम चरणमा रहेको यस होटलमा ६८ वटा प्रिमियम कोठा (सुइट सहित), ३ वटा बैंक्वेट हल, ३ वटा रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिम, ध्यान कक्ष, कफी शप, म्युजिक क्लबलगायत विभिन्न विश्वस्तरीय सुविधाहरू रहनेछन्। साथै, दीर्घकालीन रणनीतिअन्तर्गत उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना पनि समावेश गरिएको कम्पनीले जनाएको छ।
आईपीओ निष्काशनपछि निकट भविष्यमा पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने दीर्घकालीन योजना समेत अघि सारिएको अध्यक्ष बरालले जानकारी दिए।
कम्पनीका संस्थापक तथा प्रवद्र्धक समूहमा पर्यटन, जलविद्युत्, बैंकिङ र शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यवसायीहरूको संलग्नता रहेको छ। होटल सञ्चालनका लागि २५ वर्षभन्दा बढी अनुभव भएका व्यवस्थापकहरूको नेतृत्व रहने जनाइएको छ। करिब १ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको यो होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
त्यसैगरी, भारतीय तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी रणनीतिक रूपमा होटल सञ्चालन गर्ने विषयमा पनि अध्ययन भइरहेको कम्पनीले जनाएको छ।


