हिम्दुङ कन्स्ट्रक्सनको वित्तीय संकेत मजबुत हुँदै

हिम्दुङ कन्स्ट्रक्सनको वित्तीय संकेत मजबुत हुँदै तरुण खबर ३० पुष २०८२, बुधबार ११:१६
हिम्दुङ कन्स्ट्रक्सनको वित्तीय संकेत मजबुत हुँदै

साढे तीन दशकभन्दा लामो अनुभव बोकेको हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन प्राइभेट लिमिटेडको वित्तीय तथा सञ्चालन अवस्था क्रमिक रूपमा सुधारोन्मुख देखिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो रेटिङ प्रतिवेदनले कम्पनीको आम्दानी, नाफा र ऋण तिर्ने क्षमतामा सकारात्मक प्रगति देखाएको छ।

प्रतिवेदनअनुसार कम्पनीले सन् २०२५ मा ३२ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ६ प्रतिशतले बढी हो। आम्दानीसँगै खुद नाफामा पनि उल्लेख्य सुधार आएको छ। सन् २०२३ मा मात्र ०.३९ प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा बढेर ३.८९ प्रतिशत पुगेको छ।

कम्पनीको ऋण तिर्न सक्ने क्षमतामा पनि सुधार देखिएको छ। सन् २०२३ मा १.५९ गुणा रहेको डेब्ट सर्भिस कभरेज रेसियो सन् २०२५ मा बढेर ३.२४ गुणा पुगेको इन्फोमेरिक्स नेपालले जनाएको छ।

यद्यपि, व्यापार विस्तार भइरहे पनि निर्माण सामग्रीको बढ्दो मूल्य र सञ्चालन खर्चका कारण सञ्चालन मुनाफा केही दबाबमा परेको छ। सञ्चालन मुनाफा सन् २०२३ को २१.७ प्रतिशतबाट घटेर सन् २०२५ मा १७.१ प्रतिशतमा सीमित भएको छ। सन् २०२५ नोभेम्बरसम्म कम्पनीसँग करिब १ अर्ब ५९ करोड ६० लाख रुपैयाँ बराबरका सडक तथा पुल निर्माणसम्बन्धी ठेक्काहरू कार्यान्वयनकै चरणमा रहेका छन्।

रेटिङ प्रतिवेदनले सरकारी ठेक्कामा हुने ढिलाइ, प्रक्रियागत जटिलता, ब्याजदरको उतारचढाव र तीव्र प्रतिस्पर्धालाई कम्पनीका प्रमुख जोखिमका रूपमा औंल्याएको छ। आगामी दिनमा नयाँ ठेक्का प्राप्त गर्नु र चालू आयोजनाहरू समयमै सम्पन्न गर्नु कम्पनीका लागि मुख्य चुनौती रहने उल्लेख गरिएको छ।

इन्फोमेरिक्स नेपालले कम्पनीको कुल १ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाको रेटिङ गरेको छ। यसअन्तर्गत २० करोड ४३ लाख रुपैयाँको दीर्घकालीन ऋणका लागि ‘आइआरएन बीबी’, १४ करोड ३० लाख रुपैयाँको अल्पकालीन ऋणका लागि ‘आइआरएन ए फोर’ तथा १ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको मिश्रित कर्जाका लागि ‘आइआरएन बीबी/ए फोर’ रेटिङ कायम गरिएको छ।

सन् १९८७ मा स्थापना भएको हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनले हालसम्म ११५ भन्दा बढी आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। कम्पनीले लुम्बिनीस्थित मायादेवी मन्दिरको जीर्णोद्धार, काठमाडौं–भक्तपुर सडक विस्तारलगायत विभिन्न राष्ट्रिय गौरवका आयोजनामा काम गरिसकेको छ। उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप कम्पनीले सन् २०१८ मा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) बाट ‘गोल्ड अवार्ड’ समेत प्राप्त गरेको थियो।