ग्लोबल आइएमईको १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा वृहत् रक्तदान

ग्लोबल आइएमईको १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा वृहत् रक्तदान तरुण खबर ३० पुष २०८२, बुधबार ११:३०
ग्लोबल आइएमईको १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा वृहत् रक्तदान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बैंकले स्थापनाको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गर्दै घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्व कार्यक्रमहरूमध्ये यस कार्यक्रम विशेष रूपमा सफल भएको छ।

कार्यक्रमअन्तर्गत कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बाग्मती प्रदेशको कान्तिपथ र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान गरिएको थियो।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित यस कार्यक्रममा कुल ५५८ जना रक्तदाताले रक्तदान गरेका छन्। संकलित रगत गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर वितरण गरिने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरू निरन्तर गर्दै आएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ।

देशभरका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक ग्लोबल आइएमईसँग ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय मार्फत १,००० भन्दा बढी सेवा केन्द्र छन्।