जेनेरेसन नेक्स्टको कारोबारमा बलियो उछाल, आम्दानी र रेटिङ दुवैमा सुधार

जेनेरेसन नेक्स्टको कारोबारमा बलियो उछाल, आम्दानी र रेटिङ दुवैमा सुधार तरुण खबर १ माघ २०८२, बिहीबार १२:०५
जेनेरेसन नेक्स्टको कारोबारमा बलियो उछाल, आम्दानी र रेटिङ दुवैमा सुधार

नेपालका लागि एप्पल उत्पादनहरूको एक मात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्राइभेट लिमिटेडले पछिल्ला वर्षहरूमा उल्लेख्य व्यावसायिक प्रगति गरेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल (इन्फोमेरिक्स नेपाल)ले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीको सञ्चालन आम्दानी, नाफाको अनुपात तथा वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ।

कम्पनीले आर्थिक वर्ष २०२५ मा सञ्चालन आम्दानी ५४ प्रतिशतले वृद्धि गर्दै ६ अर्ब ५९ करोड ६ लाख रुपैयाँ पुर्‍याएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ४ अर्ब २९ करोड १ लाख रुपैयाँ रहेको थियो। इन्फोमेरिक्स नेपालका अनुसार कम्पनीले २०२३ मा २ अर्ब २१ करोड ८ लाख रुपैयाँ र २०२२ मा ३ अर्ब ५७ करोड १ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।

सञ्चालन आम्दानीसँगै कम्पनीको सञ्चालन नाफाको अनुपातमा पनि सुधार देखिएको छ। २०२४ मा ५.०५ प्रतिशत रहेको सञ्चालन नाफाको अनुपात २०२५ मा बढेर ५.५२ प्रतिशत पुगेको छ। यसअघि २०२२ मा ६.२० प्रतिशत र २०२३ मा ९.५० प्रतिशत सञ्चालन नाफा अनुपात रहेको इन्फोमेरिक्स नेपालको प्रतिवेदनमा उल्लेख छ।

वित्तीय अवस्थाको सुधारसँगै कम्पनीको रेटिङ पनि उक्लिएको छ। इन्फोमेरिक्स नेपालले कम्पनीको २ अर्ब ३६ करोड रुपैयाँ बराबरको छोटो अवधिको बैंक सुविधाको रेटिङ आइआरएन ए४ प्लसबाट बढाएर आइआरएन ए३ कायम गरेको छ। साथै, १ करोड ९ लाख रुपैयाँको लामो अवधिको ऋणका लागि कम्पनीले आइआर बीबीबी माइनस रेटिङ पाएको छ। कम्पनीको ब्याज कभरेज अनुपात समेत सुधार भएर ३.८४ गुणा पुगेको छ, जसले ऋण दायित्व वहन गर्ने क्षमता बलियो रहेको देखाउँछ।

सन् २०१० मा स्थापना भएको जेनेरेसन नेक्स्ट कम्युनिकेसन भीमसारिया समूहको हिस्सा हो। चार दशकभन्दा बढी व्यावसायिक अनुभव भएका पवन कुमार भीमसारियाको नेतृत्वमा कम्पनीले देशभर बलियो बजार उपस्थिति बनाएको छ। हाल कम्पनीसँग डेल ब्रान्डका लागि १५० भन्दा बढी र एप्पल ब्रान्डका लागि ५० भन्दा बढी आधिकारिक बिक्रेताहरू छन्। साथै, काठमाडौं उपत्यकामा कम्पनीले दुईवटा आफ्नै एप्पल सेवा केन्द्रहरू सञ्चालन गर्दै आएको छ।

यद्यपि, इन्फोमेरिक्स नेपालले केही चुनौती र जोखिमका पक्षहरू पनि औँल्याएको छ। कम्पनीको राजस्वमा एप्पल ब्रान्डमाथिको निर्भरता तीव्र रूपमा बढेको छ। आर्थिक वर्ष २०२३ मा ५० प्रतिशत रहेको एप्पलको योगदान २०२५ मा आइपुग्दा ९७ प्रतिशत पुगेको छ। यसका साथै, बजारमा तीव्र प्रतिस्पर्धा, अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढाव, प्रविधिमा द्रुत परिवर्तन तथा सरकारी नीतिहरूमा हुने सम्भावित फेरबदलले भविष्यमा कम्पनीको नाफा र सञ्चालनमा असर पार्न सक्ने जोखिम रहेको रेटिङ एजेन्सीले जनाएको छ।