तरुण खबर
२ माघ २०८२, शुक्रबार ११:२१
पोखरा महानगरपालिकाले करदातालाई थप राहत दिने निर्णय गरेको छ। महानगरको १८औँ नगरसभाले पुस मसान्तसम्म लागू हुने भनिएको कर छुटको समयावधि आगामी चैत मसान्तसम्म विस्तार गरेको हो।
महानगरको राजस्व सङ्कलन प्रणालीमा प्राविधिक समस्या आएपछि सेवाग्राहीले चाहेर पनि कर बुझाउन नसक्ने अवस्था सिर्जना भएको भन्दै नगरसभाले छुटको अवधि थप्ने निर्णय गरेको जनाएको छ। आर्थिक ऐनअनुसार चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर तिर्ने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था थियो। तर प्रणालीमा समस्या आएपछि कर तिर्न आएका सर्वसाधारण फर्किनुपर्ने अवस्था आएको महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए।
उनका अनुसार करदाताको कुनै गल्ती नभई प्रणालीगत समस्याका कारण कर बुझाउन नसकिएकाले छुटको समय चैत मसान्तसम्म बढाइएको हो। यस निर्णयबाट सेवाग्राहीलाई आर्थिक रूपमा राहत मिल्ने विश्वास महानगरको छ।
यसअघि प्रणालीमा देखिएको समस्याका कारण करदाताहरू मर्कामा परेको भन्दै पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले कर छुटको समयावधि थप गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए। सोही मागलाई सम्बोधन गर्दै नगरसभाले समयावधि विस्तारको निर्णय गरेको हो।


