कञ्चनपुर–कमला सडकमा प्रगति बढ्दो, काम ६९ प्रतिशत पूरा

कञ्चनपुर–कमला सडकमा प्रगति बढ्दो, काम ६९ प्रतिशत पूरा तरुण खबर २ माघ २०८२, शुक्रबार ११:२४
कञ्चनपुर–कमला सडकमा प्रगति बढ्दो, काम ६९ प्रतिशत पूरा

नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको पाँच वर्ष पुग्दा ६९ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। एसियाली विकास बैंक (एडीबी) को मुख्य लगानीमा निर्माणाधीन ८६ दशमलव ८३ किलोमिटर लामो यो सडक खण्ड तीन पटक म्याद थपिँदा पनि अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।

सन् २०२० जुनमा चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ ग्रुपसँग सम्झौता भई सुरु भएको यो आयोजनाअनुसार सडक २८ अक्टोबर २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो। तर साइट क्लियरेन्सको समस्या र कोरोना महामारीका कारण पहिलो पटक १४ महिना र दोस्रो पटक १२ महिना म्याद थप गरिएको थियो। हालै आयोजनाको काम पूरा गर्न आगामी जुनसम्मका लागि तेस्रो पटक छ महिनाको म्याद थप गरिएको छ।

करिब रु १६ अर्ब आठ करोड ५० लाखभन्दा बढी लागत अनुमान गरिएको यो परियोजनामा सडकलाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ। पूर्वी खण्ड कञ्चनपुर–कुसहा ३९ दशमलव ४२ किलोमिटर र पश्चिमी खण्ड कुसहा–कमला ४७ दशमलव ४ किलोमिटर लामो छ।

पूर्वी खण्डमा ६७ प्रतिशत प्रगति

लहानस्थित पूर्वी खण्ड कार्यालयका सूचना अधिकारी इञ्जिनियर राजीव झाका अनुसार यस खण्डमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको छ। यसअन्तर्गत २४ किलोमिटर सडक चार लेनमा कालोपत्र भइसकेको छ भने ११३ वटा कल्भर्ट र २० वटा पुल निर्माण भई सवारीसाधन सञ्चालनमा आइसकेका छन्।

तर कञ्चनपुर, महुली, रुपनी र कल्याणपुरजस्ता बजार क्षेत्रमा छ लेन सडक बनाउनुपर्ने भए पनि स्थानीय अवरोधका कारण काम अपेक्षाकृत ढिलो भइरहेको उनले बताए। “प्राविधिक रूपमा आवश्यक नपर्ने स्थानमा पनि नाला बनाउन दबाब आउँदा र विभिन्न अवरोधका कारण काम सुस्त भएको छ,” उनले भने, “तैपनि थपिएको म्यादभित्रै काम सक्ने गरी हामी प्रयासरत छौँ।”

पश्चिम खण्डमा डिजाइन र ओभरपासको चुनौती

पश्चिम खण्ड अन्तर्गत मिर्चैया कार्यालयका अनुसार गत असोज मसान्तसम्म ३० दशमलव ८५ किलोमिटर चार लेन सडक निर्माण भइसकेको छ। यस खण्डमा रहेका ११२ कल्भर्ट र २५ पुलमध्ये १२ वटा सञ्चालनमा आइसकेका छन्। तर गोलबजार क्षेत्रमा डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा निर्माण कार्यले अपेक्षित गति लिन नसकेको जनाइएको छ।

कार्यालयका सूचना अधिकारी अनुपम साहका अनुसार लहान र मिर्चैयामा ओभरपास निर्माणका लागि पाइल फाउन्डेसनको काम भइरहेको छ। लहान क्षेत्रमा माटो कमजोर देखिएकाले २० वटा ग्राभेल फाउन्डेसन निर्माण गरिएको छ। साथै लहान बसपार्क र प्रादेशिक अस्पताल अगाडि आकाशे पुलको जग निर्माणसमेत पूरा भइसकेको छ।

मुख्य सडक चार लेन र बजार क्षेत्रमा छ लेनको हुने यस आयोजनामा पुल, कल्भर्ट र ओभरपासजस्ता संरचनाको अन्तिम फिनिसिङका काम अझै बाँकी छन्। आयोजनामा एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी रहेको छ। आयोजनालाई तोकिएको नयाँ म्यादभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको सम्बन्धित निकायले जनाएको छ।