प्राथमिक विद्यालयका शिक्षक बने पेरुको राष्ट्रपति

प्राथमिक विद्यालयका शिक्षक बने पेरुको राष्ट्रपति तरुण खबर १४ श्रावण २०७८, बिहीबार ०९:४६
प्राथमिक विद्यालयका शिक्षक बने पेरुको राष्ट्रपति

काठमाडौं । लामो र तनावपूर्ण निर्वाचन प्रक्रियापश्चात् पेद्रो कास्टियोले पेरुको राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । पेरुको जनसंख्या ३ करोड ३४ लाख ६३ हजार १८८ छ । उनको विजयले राजनीतिक रूपमा गहिरोसँग विभाजित र कोरोना संक्रमणको महामारीले नराम्ररी प्रभावित पेरुका राजनीतिक तथा व्यापारिक उच्च वर्गलाई स्तब्ध पारिदिएको छ । पेरुको एकदमै गरिब इलाकाको एउटा सानो गाउँमा जन्मिएका पेद्रो काष्टियोले खेतीपातीमा आफ्ना निरक्षर मातापितालाई सघाउँदै हुर्किएका थिए ।

बाल्यकालमा उनी विद्यालय जानका लागि दुई घण्टाभन्दा बढी हिँड्नुपथ्र्याे । अन्ततः उनी एउटा विद्यालयका शिक्षक बने र पच्चिस वर्ष काम गरे । पछि उनी शिक्षक युनियनको नेता बने । नेतृत्वमा तेजस्वी वृद्धिका साथ राष्ट्रपति कार्यालयको कुनै अनुभव विनै यस वर्ष कास्टियो पेरुको राष्ट्रपति चुनिए ।

कास्टियोको विजयमा उनी हुर्किएकै जस्तो ग्रामीण क्षेत्रका मतदाताको अनुमोदनले मुख्य भूमिका खेलेको बताइन्छ । उनका चुनावी ¥यालीहरूमा एउटा धनी देशमा फेरि कहिल्यै एक जना पनि गरिब मान्छे हुने छैनन् भन्ने खाले नियमित सन्देशहरू प्रवाह गरिएको थियो । त्यसले संघर्षशील पेरुवासीलाई उनले आवाज दिएको रूपमा हेरियो । मलाई थाहा छ एउटा विद्यालयमा बढार्नु भनेको के हो, उनले एक पटक भनेको भनी बीबीसी न्यूजले समाचारमा उल्लेख गरेको छ । कास्टियोले आफूलाई जनताको मान्छेका रूपमा प्रस्तुत गर्ने गर्छन् । यो दुर्लभै रूपमा काजामार्का क्षेत्रको परम्परागत सेतो ह्याटविना देखिन्छन् ।

त्यसले उनको माक्र्सवादी फ्रि पेरु पार्टीको पनि सङ्केत गरेको छ । र, उनको शिक्षाको पृष्ठभूमिको पनि प्रतिनिधित्व गर्छ । उनले देशलाई बहुसङ्ख्यकको हित अनुकूल शासन नगरिएको दाबी गर्दै भनेका थिए– गरिबी तथा असमानतालाई सम्बोधन गर्न ठूलो परिवर्तनका लागि आह्वान गरेका छन् । त्यसमा विवादित बनेको नयाँ संविधानको मस्यौदा गर्ने कुरा पनि छ । काष्टियोका विरोधीहरूले उनलाई कम्युनिष्ट गुरिल्ला समूहसँग मिलेमतो रहेका वामपन्थी अतिवादीका रूपमा देखाउने कोसिस गरेका थिए ।

काष्टियोले आफ्ना भाषणहरूमा नियन्त्रण त राखे तर उनका आलोचकहरू उनका केही योजनाले ल्याटिन अमेरिकाको सबैभन्दा स्थिर देशमा उथलपुथल हुनसक्ने बारे चिन्तित छन् । नौ जना सन्तानमध्ये तेस्रो सन्तानका रूपमा काष्टियो सन् १९६९ अक्टोबर १९ मा पुना क्षेत्रमा जन्मिएका थिए । उनले प्राथमिकत विद्यालयको शिक्षकका रूपमा सन् १९९५ देखि २०२० सम्म काम गरेका छन् । काष्टियोले सन् २००२ देखि आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । त्यस बेला उनी मेयरमा उठेर हारेका थिए । सन् २०१७ मा भएको शिक्षकहरूको आन्दोलनबाट उनी नेताको रूपमा उदाए ।

शहरी क्षेत्रमा खासै नचिनिएका भए पनि काष्टियो यो वर्षको राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बनेका थिए । पहिलो चरणको निर्वाचनमा विजयी भए र अन्य १७ उम्मेद्वारलाई दौडबाट बाहिर पारिदिए । त्यो धेरैको आशा विपरीत थियो । उनले पूर्व राष्ट्रपति अल्बेर्ट्रो फुजिमोरीकी छोरी तथा व्यापारिक समुदायमा लोकप्रिय केइको फुजिमोरीलाई हराएर राष्ट्रपति चयन भए । उनी निकटतम प्रतिद्वन्दी भन्दा ४४ हजार बढी मतले मात्र विजयी भएका हुन् । मतगणनाका लागि हप्तौँ लागेको थियो । फुजिमोरी समूहबाट अधिकारीहरूले कैयौँ चुनौतीको सामना गर्नुपरेको थियो । अब पेरुको समुदायका सबै क्षेत्र मिलेर एउटा समावेशी, एउटा निष्पक्ष र एउटा स्वतन्त्र पेरु बनाउने बेला आएको छ– उनले भनेका छन् ।

उनी भ्रष्ट्राचारका कैयौँ विवाद र हल्लाहरूबाट आजित भएका पेरुवासीलाई आफ्नो पक्षमा ल्याउने गरी आह्वान गर्न सफल भएका छन् । तर अब उनका लागि निकै कठिन समय आएको छ । पेरुमा अहिले प्रतिव्यक्ति दरमा विश्वमै सबैभन्दा धेरै कोभिड–१९ बाट हुने मृत्युदर देखिएको छ । त्यस्तै आर्थिक सङ्कटले त्यहाँ लाखौँलाई गरिबीमा धकेलेको छ । उनले शिक्षा र स्वास्थ्यजस्ता सार्वजनिक सेवालाई रकम जुटाउन खानीकर बढाउने योजना बनाएका छन् । यस्ता सेवाको अक्षमता महामारीमा उजागर भएको थियो । त्यस्तै उनले एक वर्षभित्र १० लाखलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । कार्यभार सम्हालेसँगै उनले गरिबी घटाउने र कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्न जनस्वास्थ्य प्रणालीलाई सुधार गर्ने वाचा गरेका छन् । १ करोड ५४ लाख ३२ हजार ५५६ जनाको नमुना परीक्षण गर्दा २१ लाख ७ हजार ८७३ जना कोरोनाभाइरसका संक्रमित छन् । कुल संक्रमितमध्ये १ लाख ९६ हजार १३८ मृत्यु भएको छ ।

पेरुमा पेद्रो कास्टियोले इतिहासमै पहिलो पटक देशलाई कुनै किसानले नेतृत्व गरिरहेको बताए । आफ्नो सुरुवाती मन्तव्यमा उनले पेरुले स्पेनी उपनिवेशबाट स्वतन्त्र भएको कुरलाई स्मरण गरेका थिए । उपनिवेशकारी शक्तिलाई सयौँ वर्षदेखि गरिब र आदीवासीमाथि भेदभाव गरेको आरोप लगाए । उनले निजी क्षेत्रलाई सम्मान गर्ने तर भ्रष्टाचार र सहुलियतलाई नियन्त्रण गर्ने तथा पेरुका उच्च प्रतिफलयुक्त खानीलाई नियमन गर्ने बताए ।