रसुवामा पर्यटनको रौनक बढ्दै

रसुवामा पर्यटनको रौनक बढ्दै तरुण खबर २ माघ २०८२, शुक्रबार ११:३२
रसुवामा पर्यटनको रौनक बढ्दै

हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म गोसाइँकुण्ड र लाङ्टाङ क्षेत्र गरी ३२ हजार ६७१ आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेका छन्।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोसाइँकुण्ड र प्राकृतिक सौन्दर्यले भरिएको लाङ्टाङ क्षेत्र पर्यटकको प्रमुख आकर्षण बनेका छन्। कुल पर्यटकमध्ये पाँच हजार ८८४ जना विदेशी र २६ हजार ७८७ जना स्वदेशी पर्यटक रहेका छन्। चालु आर्थिक वर्षमा पर्यटक सङ्ख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ। गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेका थिए।

निकुञ्ज क्षेत्र प्रवेश गर्न विदेशी पर्यटकलाई रु तीन हजार र नेपालीलाई रु एक सय प्रवेश शुल्क लाग्ने व्यवस्था छ। निकुञ्जका अभिलेखकर्ता केशव ढडारीका अनुसार पछिल्लो छ महिनामा मात्रै प्रवेश शुल्कबाट रु दुई करोड ३९ लाख ८८ हजार ६६० राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यकाबाट नजिक रहेको रसुवामा पर्यटक आगमन बढेसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको छ। गोसाइँकुण्ड, लाङ्टाङ र स्याफ्रु क्षेत्र आसपास होटल व्यवसायी, किसान, कामदार र सेवा क्षेत्रमा संलग्न स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भएको जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।