अपडेटसहित पल्सर २२०एफ नेपाल फर्किँदै

अपडेटसहित पल्सर २२०एफ नेपाल फर्किँदै तरुण खबर ४ माघ २०८२, आईतवार १०:४६
अपडेटसहित पल्सर २२०एफ नेपाल फर्किँदै

वर्षौँको प्रतीक्षापछि बजाज पल्सर २२०एफले अन्ततः बहुप्रतीक्षित अपडेट पाएको छ। नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बीएस६ अपडेटेड पल्सर २२०एफको औपचारिक बुकिङ खुला गरेको छ। यससँगै नेपाली बजारमा दशकौँदेखि लोकप्रिय यस मोटरसाइकलको विरासत नयाँ प्रविधि र सुरक्षा सुविधासहित निरन्तर रहने भएको छ।

भारतीय बजारमा केही समयअघि मात्रै बिक्री सुरु भएको यो मोटरसाइकल सन् २०२६ को पहिलो त्रैमासभित्र नेपालका सडकमा देखिने कम्पनीले जनाएको छ। नेपाली युवामाझ ‘लेजेन्ड’ का रूपमा चिनिँदै आएको पल्सर २२०एफलाई बजाजले आधुनिक प्रविधि, सुधारिएको डिजाइन र थप सुरक्षा फिचरहरूसहित पुनः बजारमा ल्याउन लागेको हो।

कम्पनीले २०२६ बजाज पल्सर २२०एफको सुरुवाती मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ। नयाँ फिचर र प्रविधिको तुलनामा यो मूल्य प्रतिस्पर्धी मानिएको छ। हाल बुकिङ खुला भइसकेको छ र छिट्टै देशभरका बजाज शोरुममार्फत डेलिभरी सुरु हुने बताइएको छ।

ग्राहकको रुचिलाई ध्यानमा राख्दै बजाजले यस पटक पल्सर २२०एफ चारवटा नयाँ र आकर्षक कलर थिममा उपलब्ध गराएको छ। स्पार्कल ब्ल्याकमा गोल्डेन वा रातो ग्राफिक्स, युवामाझ लोकप्रिय भोल्कानिक रेड, प्रिमियम लुक्स दिने सैफायर ब्लु र सफा तथा आधुनिक शैली मन पराउनेहरूका लागि पर्ल ह्वाइट कलर विकल्पमा यो मोटरसाइकल किन्न सकिनेछ।

फिचरका हिसाबले, अपडेटेड पल्सर २२०एफमा आधा दर्जनभन्दा बढी नयाँ सुविधा थपिएका छन्। यसमा पहिलो पटक आधुनिक एलईडी हेडलाइट र एलईडी इन्डिकेटर जडान गरिएको छ, जसले रातिको समयमा राम्रो भिजिबिलिटीका साथै बाइकलाई प्रिमियम लुक्स प्रदान गर्छ। सुरक्षालाई प्राथमिकता दिँदै यसमा डबल च्यानल एबीएस सिस्टम थपिएको छ, जसले तीव्र गतिमा ब्रेक लगाउँदा समेत बाइकलाई स्थिर र सुरक्षित राख्न मद्दत गर्छ।

डिजाइन पक्षमा ‘आइकोनिक’ पहिचानलाई जोगाउँदै नयाँ ग्राफिक्स र रङ संयोजन गरिएको छ। यसले पुराना प्रयोगकर्ताको भावना जोगाउनुका साथै नयाँ पुस्ताका राइडरलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रविधिको क्षेत्रमा पनि ठूलो अपडेट गरिएको छ। नयाँ पल्सर २२०एफ अब पूर्ण डिजिटल कन्सोलसहित आएको छ, जसमा ब्लुटुथ कनेक्टिभिटी र ‘राइड कनेक्ट’ एपको सुविधा उपलब्ध छ। यसमार्फत टर्न–बाइ–टर्न नेभिगेसन, कल र एसएमएस अलर्ट, मोबाइल ब्याट्री लेभल, ट्रिप कम्प्युटर तथा डीटीई रिडआउट जस्ता स्मार्ट फिचरहरू प्रयोग गर्न सकिन्छ।

इन्जिनतर्फ, यसमा २२० सीसीको सिंगल सिलिन्डर, आयल–कुल्ड, फ्युल इन्जेक्टेड इन्जिन जडान गरिएको छ, जुन बीएस६ ओबीडी फेज–२ मापदण्डअनुसार कम्प्लायन्ट छ। यस इन्जिनले अधिकतम २०.४ पीएस पावर र १८.५५ एनएम टर्क उत्पादन गर्छ। नयाँ इन्जिनले परफर्मेन्सलाई सन्तुलित बनाउँदै इन्धन खपतमा पनि सुधार ल्याउने अपेक्षा गरिएको छ।