तरुण खबर
४ माघ २०८२, आईतवार १०:५२
नेपालमा पहिलो पटक आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिता २०२६ को उद्घाटन खेलमा नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।
यो प्रतियोगिता नेपाली महिला क्रिकेटका लागि ऐतिहासिक मानिएको छ। एसिया छनोट पार गर्दै नेपाली महिला टोली पहिलो पटक ग्लोबल छनोट चरणमा पुगेको हो। अब टोलीको लक्ष्य महिला टी–२० विश्वकपमा स्थान बनाउने रहेको छ।
यद्यपि नेपालका लागि यो चुनौती सजिलो भने छैन। थाइल्यान्ड महिला क्रिकेटमा अनुभवी र बलियो टोली मानिन्छ, जसले यसअघि नै महिला टी–२० विश्वकप खेलिसकेको छ। त्यसैले उद्घाटन खेलमै नेपाललाई कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिएको छ।
प्रतियोगिताको समूह ‘बी’ मा नेपाल, थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बावे र स्कटल्यान्ड रहेका छन्। समूह चरणमा शीर्ष तीन स्थानमा रहने टोलीहरू ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सपछि शीर्ष चार टोलीले महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
आफ्नै घरेलु मैदानमा खेलिरहेको नेपाली महिला टोलीले समर्थकको साथ र उत्साहलाई बल बनाउँदै विश्वकप यात्रालाई मजबुत सुरुआत दिने लक्ष्य लिएको छ। प्रतियोगितामा नेपालले देखाउने प्रदर्शनले महिला क्रिकेटको भविष्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।


