तरुण खबर
१५ श्रावण २०७८, शुक्रबार ०९:५२
काठमाडौं । करीब ३ करोड जनसंख्या रहेको नेपालमा कोरोनाभाइरस संक्रमण बढ्ने क्रम देखिएसँगै थप सतर्कता अपनाइनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलवारको तथ्याङ्क अनुसार गत तीन दिनमा नेपालमा दैनिक औसत ३७ सय संक्रमित थपिएका छन् । उक्त संख्या अघिल्लो तीन दिनको दैनिक औसत २६ सयभन्दा निकै बढी हो । ३५ लाख ८४ हजार ४१९ जनाको नमुना परीक्षण गर्दा ६ लाख ९० हजार ६४२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छ । कुल संक्रमितमध्ये ३० हजार ३९० जना सक्रिय संक्रमित छन् भने ९ हजार ८०७ जनाको संक्रमणबाट निधन भएको छ । यो तथ्यांक २०७८, साउन १४ गते साँझको हो ।
शनिवार, आइतवार र सोमवार गरी ७,९२४ संक्रमित थपिएकामा मङ्गलवार, बुधवार र बिहीवार गरी ११,२६० जना थपिएका थिए । छिमेकी भारतमा तेस्रो लहर अवश्यम्भावी रहेको विवरण आइरहेको बेला नेपालमा पनि निकै धेरै सम्भावना रहेको बताइन्छ । अन्य स्थानका तुलनामा बढी जनघनत्व भएकाले काठमाडौं उपत्यकामा आवश्यक सावधानी नअपनाइए यो गति झन् तीव्र हुन सक्ने कतिपयको भनाइ छ । तर धेरै जनसंख्या रहेका कारण उच्च जोखिममा रहेको भनिएको काठमाडौं उपत्यकामा महामारी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमका व्यवस्थाहरू लागु गर्दै आएका जिल्ला प्रशासन कार्यालयहरू भने हाल पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।
संक्रमितको संख्या घटेको भनिएको बेला समेत अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका संक्रमित धेरै हुने क्रम जारी छ । जस कारण काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले निषेध आदेशलाई गत सोमवारदेखि निरन्तरता दिँदै १० दिनका लागि थपेको छ ।
यसअघि साउन १ गतेदेखि शुरु हुने गरी निषेधाज्ञालाई अझ खुकुलो बनाइएको थियो । उपत्यका छिर्नलाई त्यस बेलादेखि निजी तथा सार्वजनिक सवारीलाई अनुमति पत्र आवश्यक नपर्ने गरिएको थियो ।
अरू भन्दा यातायात खोले पछि कोरोनाभाइरसको संक्रमण बढेको पाइएको छ । यातायात नखोल्दा अलि घटेको थियो । भर्खरै हामीले १० दिन थपेका छौँ । अब यसबारेमा एक दुई दिन बढ्न गयो भने बसेर छलफल गर्नुपर्ने हुन्छ– तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निश्कर्ष निकालेको छ । अन्य विभिन्न खाले भिडभाड भइरहेको अवस्थामा लामो समयदेखि मारमा परेको यातायात क्षेत्रमा प्रभाव पर्न सक्ने देखिएको उनीहरुले बताएका छन् ।
विभिन्न खाले भिडभाड भइरहेका छन् । यातायातले हामीलाई लामो समय भो भनेर आफ्नो किसिमको माग राखिरहेको विषय छ । अब यही रूपमा बढ्दै गयो भने यसलाई बिचार चाहिँ गर्नुपर्ने स्थिति आउँछ । ठोस केही निर्णय गर्नुअघि थप केही दिन तथ्याङ्क हेर्न जरुरी रहेको उनीहरूले बताएका छन् । उपत्यकाका तीनै जिल्लाहरूले समन्वय गरेर एउटै खाले निर्णय सार्वजनिक गर्ने गरेका छन् ।


