तरुण खबर
७ माघ २०८२, बुधबार ११:२३
पर्साको चोर्नीलाई मुख्य कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको शिव शक्ति केमोप्लास्ट प्राइभेट लिमिटेडले आफ्नो व्यापार र वित्तीय अवस्थामा उल्लेख्य सुधार देखाएको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँको कारोबार गर्दै नयाँ उचाइ कायम गरेको छ ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको ताजा रेटिङ रिपोर्टअनुसार कम्पनीको आम्दानी र नाफा पछिल्ला वर्षहरूमा निरन्तर रूपमा बढिरहेको छ । आर्थिक वर्ष २०२३ देखि २०२५ सम्म कम्पनीको कुल सञ्चालन आम्दानी वार्षिक औसत ११ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा ९२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा १ अर्ब ७० लाख रुपैयाँ र सन् २०२५ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँको व्यापार गर्न सफल भएको हो ।
घरेलु तथा निर्यात बजारको मागमा आएको सुधारका कारण व्यापार विस्तार भएको रेटिङ रिपोर्टमा उल्लेख छ । बैंकिङ कर्जा सुविधाका लागि गरिएको क्रेडिट रेटिङअनुसार कम्पनीका लागि ७३ करोड २१ लाख ६० हजार रुपैयाँको कर्जा सीमा निर्धारण गरिएको छ । सुधारिएको वित्तीय अवस्थालाई आधार मान्दै इन्फोमेरिक्स नेपालले कम्पनीको अघिल्लो रेटिङमा अपग्रेडसमेत गरेको छ ।
कम्पनीले लिएको ६ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘डबल बी प्लस’ र ६७ करोड रुपैयाँ बराबरको अल्पकालीन ऋणका लागि ‘ए फोर प्लस’ रेटिङ प्रदान गरिएको छ ।
दुई दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको शिव शक्ति केमोप्लास्ट नेपालमा पोलिप्रोपिलिन प्याकेजिङ सामग्री उत्पादन क्षेत्रमा स्थापित कम्पनी हो । यो कम्पनी सन् १९८७ देखि सक्रिय रहेको शिव शक्ति ग्रुप अन्तर्गत पर्दछ । कम्पनीको नेतृत्व निर्देशक राहुल कुमार अग्रवालले गरिरहेका छन्, जो सन् १९९६ देखि विभिन्न औद्योगिक क्षेत्रमा आबद्ध छन् । कम्पनीले पिपी वोभन फ्याब्रिक्स, बोरा तथा मल्टि-लेयर सिट उत्पादन गर्दै आएको छ ।
कम्पनीको उत्पादन इकाइ पर्साको चोर्नीमा भारत–नेपाल सीमा नजिकै अवस्थित हुनु यसको प्रमुख व्यावसायिक सबल पक्ष मानिएको छ । यसले कच्चा पदार्थ आयात गर्दा ढुवानी खर्च कम हुनुका साथै भारततर्फ निर्यातलाई पनि सहज बनाएको छ । सन् २०२५ मा कम्पनीको कुल बिक्रीमध्ये करिब ५९ प्रतिशत हिस्सा निर्यातबाट आएको छ, जसको मूल्य ६७ करोड ५० लाख रुपैयाँ बराबर रहेको छ ।
प्लाष्टिक उत्पादन उद्योग पुँजी तथा श्रम प्रधान भएकाले केही चुनौतीहरू कायम रहेका छन् । सन् २०२५ मा कम्पनीको सञ्चालन मुनाफा ५.८४ प्रतिशत रहेको छ । सन् २०२४ मा २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले सन् २०२५ मा नाफा बढाएर २ करोड ४० लाख रुपैयाँ पुर्याएको छ ।
ऋण तिर्ने क्षमताका सूचकहरू पनि सुदृढ देखिएका छन् । सन् २०२५ मा कम्पनीको ब्याज कभरेज अनुपात ६.१९ गुणा र ऋण सेवा कभरेज अनुपात ५.४० गुणा रहेको छ ।
यद्यपि, कम्पनी कच्चा पदार्थका लागि ठूलो मात्रामा आयातमा निर्भर रहनुपर्ने र अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढावको जोखिममा रहेको छ । रिपोर्टअनुसार करिब ९६ प्रतिशत कच्चा पदार्थ आयात हुने गरेको छ, जसमा ८९ प्रतिशत भारतबाटै आउने गरेको छ । साथै, वर्किङ क्यापिटल इन्टेन्सिभ व्यवसाय भएकाले अल्पकालीन बैंक कर्जामा निर्भरता उच्च रहेको देखिन्छ ।


