तरुण खबर
१५ श्रावण २०७८, शुक्रबार १०:०८
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति एक सय डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन् । उनले संघीय सरकारका कर्मचारीका लागि पनि कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन् । अमेरिकामा संघीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो । संघीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन् ।
राष्ट्रपति जो बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ । बीबीसी न्यूजका अनुसार आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसंख्याले मात्र खोपको पूरा मात्रा लिएका छन् । अमेरिकाको जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ मात्र छ । बिहीवार ह्वाइट हाउसमा बोल्दै जो बाइडनले बढी संक्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताएका छन् । उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्तिएको छ ।
खोप नलगाउँदा हुनसक्ने जोखिमबारे उनले भने– मानिसहरूको मृत्यु भइरहेको छ र जसको निधन नहुनु पर्ने हो उनीहरूको पनि हुनसक्नेछ । राष्ट्रपति बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताए । उनले भने– यदि हामीमाझ धेरैभन्दा धेरै खोप लगाएका व्यक्तिहरू भए भने हामी सबैलाई राहत हुनेछ ।
अमेरिकी राज्यहरूलाई खोप लगाउने नयाँ व्यक्तिहरूलाई अब प्रतिव्यक्ति एक सय डलर दिन उनले आह्वान गरेका छन् । उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १.९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्नेछन् । बाइडनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको सङ्घीय सरकारले परिपूर्ति गरिदिने बताए । यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट निकालिने छैन । ह्वाइट हाउसले देशभरिका अन्य रोजगारदाताका लागि पनि त्यस्तै गर्न प्रोत्साहित गर्नका निम्ति उक्त कदम चालेको हो । गत महिनाको एउटा अध्ययनले अमेरिकामा ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिमा देखाएको छ ।
सेन्टर्स फर डिजिज कन्ट्रोलको पछिल्लो विवरण अनुसार त्यहाँ करिब ७० प्रतिशत वयस्कले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । तर अमेरिकामा खोप लगाउने मात्रा क्षेत्रीय हिसाबले फरक–फरक छ । दक्षिण र पश्चिम क्षेत्रमा खोप लगाउनेहरू कम छन् र ती क्षेत्रहरूमा अहिले कोभिड महामारी फैलिरहेको छ । अहिले अमेरिकामा प्रतिहप्ता करिब दुई हजार व्यक्तिको कोभिडका कारण निधन भइरहेको छ । त्यस्तै त्यहाँ दैनिक संक्रमण दर पनि ६० हजारसम्म रेकर्ड भएको छ । (बीबीसी न्यूजबाट)


