तरुण खबर
७ माघ २०८२, बुधबार ११:३९
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ । साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा शंखमुल, काठमाडौंमा आयोजित सभामा शेयरधनीहरूले सक्रिय सहभागिता जनाएका थिए ।
साधारणसभा र लाभांश वितरणका लागि शेयरधनी दर्ता २०८२ पुष २१ गते बन्द गरिएको थियो । सो अवसरमा आ.व. २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र ईक्विटीमा भएको परिवर्तन पारित गरिएको छ ।
त्यसैगरी, सो आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले २० करोड १२ हजार ५९२ रुपैयाँ बराबरको नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय पारित भएको छ । साथै, आ.व. २०८२/०८३ का लागि बाह्र्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि पारित गरिएको छ ।
सभामा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले प्रविधि र दक्ष जनशक्तिमा निरन्तर लगानीले कम्पनीलाई दीर्घकालीन रूपमा सुदृढ र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे । उनले स्रोतहरूको प्रभावकारी व्यवस्थापन र सबै सरोकारवालासँगको सहकार्यबाट कम्पनीलाई थप सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न चुनौतीका बाबजुद दीर्घकालीन स्थायित्व र सञ्चालन सुधारमा केन्द्रित रणनीतिका कारण उल्लेखनीय प्रगति हासिल भएको बताए । साथै, उनले वित्तीय सुदृढता, जोखिम व्यवस्थापन र ग्राहकप्रतिको प्रतिबद्धताले भविष्यमा दिगो मूल्य सिर्जना गर्ने विश्वास व्यक्त गरे ।


