तरुण खबर
८ माघ २०८२, बिहीबार १०:४९
बारा जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको नारायणी आयल रिफाइनरी उद्योग प्रालिले आफ्नो व्यापारमा उल्लेख्य वृद्धि हासिल गर्दै नयाँ उचाइ चुमेको छ। केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको पछिल्लो क्रेडिट रेटिङ रिपोर्टअनुसार कम्पनीले सन् २०२५ मा १० अर्ब २१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ।
रिपोर्टका अनुसार कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा १२३ प्रतिशतले वृद्धि भएको हो। सन् २०२३ मा ६ अर्ब ४१ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा ४ अर्ब ५८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। पछिल्लो वर्ष आएको उत्साहजनक सुधारले कम्पनीको आम्दानी संरचना मजबुत बन्दै गएको संकेत गरेको छ।
खाद्य तेल अत्यावश्यक उपभोग्य वस्तु भएकाले यसको माग स्थिर रहनु र भारतीय बजारमा निर्यातको अवसर उपलब्ध हुनु कम्पनीको व्यापार वृद्धिको प्रमुख आधार बनेको छ। यही पृष्ठभूमिमा कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि गराएको क्रेडिट रेटिङमा कुल ५ अर्ब १७ करोड ४० लाख रुपैयाँको कर्जा सीमा निर्धारण गरिएको छ।
केयर रेटिङ्स नेपालले कम्पनीले लिएको १ अर्ब ६५ करोड रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘केयर–एनपी बीबी प्लस’ र ३ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको अल्पकालीन ऋणका लागि ‘केयर–एनपी ए फोर प्लस’ रेटिङ प्रदान गरेको छ।
सन् १९८९ देखि सञ्चालनमा रहेको नारायणी आयल रिफाइनरी नेपालको खाद्य तेल उत्पादन क्षेत्रमा तीन दशकभन्दा पुरानो र स्थापित उद्योगका रूपमा परिचित छ। कम्पनी स्थापित व्यावसायिक घराना ‘चचान ग्रुप’ द्वारा प्रवर्द्धित हो भने यसको नेतृत्व निर्देशक निखिल चचानले गरिरहेका छन्। कम्पनीले ‘त्रिशक्ति’, ‘स्माइल’ र ‘आरोग्य’ ब्रान्डअन्तर्गत सोयाबिन, पामोलिन तथा सूर्यमुखी तेल उत्पादन तथा बिक्री गर्दै आएको छ।
तेल उद्योग अन्तर्राष्ट्रिय कच्चा पदार्थको मूल्य र सरकारी नीतिबाट प्रत्यक्ष प्रभावित हुने क्षेत्र भए पनि कम्पनीले सञ्चालन मुनाफा ७.७१ प्रतिशत र खुद नाफा ५.२९ प्रतिशत कायम गर्न सफल भएको छ। साथै, सन् २०२५ मा कम्पनीको ऋण सेवा गर्न सक्ने क्षमता (डिएससीआर) ३.९० गुणा रहेको छ, जसले यसको वित्तीय अवस्था क्रमशः सुधारोन्मुख रहेको देखाउँछ।
यद्यपि, यो उद्योग वर्किङ क्यापिटल इन्टेन्सिभ प्रकृतिको भएकाले ठूलो कार्यशील पुँजी आवश्यक पर्ने क्षेत्र हो। कच्चा पदार्थ आयात गर्दा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने भएकाले विदेशी मुद्रा विनिमय दरको उतारचढावले नगद प्रवाहमा दबाब पर्न सक्ने जोखिम कायमै छ।
त्यसैगरी, कम्पनीको कुल आम्दानीको करिब ६७ प्रतिशत हिस्सा भारततर्फको निर्यातमा निर्भर रहेकाले भारतीय भन्सार नीतिमा हुने परिवर्तनलाई सम्भावित जोखिमका रूपमा हेरिएको छ। यद्यपि, केयर रेटिङ्सको रिपोर्टअनुसार कम्पनीले आगामी दिनमा बजार सन्तुलन कायम गर्ने र सञ्चालन दक्षता थप बढाउने रणनीति लिएको छ।


