तरुण खबर
१६ श्रावण २०७८, शनिबार १०:४०
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बने पनि जिल्ला जिल्लामा १४औं महधिवेशन लागिसकेको छ । करीब ११ हजार २०२ जना क्रियाशील सदस्य रहेको रामेछाप जिल्लामा सभापतिका आकांक्षी छ जना देखिएका छन् । वर्तमान पार्टी सभापति लवश्री न्यौपानले दोहोर्याउँने इच्छा देखाएका छन् भने भरत चौलागाईं, पूर्णबहादुर (कान्छाराम) तामाङ, अर्जुन केसी, कृष्णबहादुर तामाङ र कृष्णबहादुर महत रामेछाप जिल्लाबाट अध्यक्षमा उठ्ने चर्चा चलिरहेको छ । रामेछाप जिल्लामा ८ वटा पालिका रहेको नेपाली काँग्रेसले रामेछाप नगरपालिका मात्र जितेको छ । दुई वटा पालिकामा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ भने पाँच वटा पालिकामा एमालेले चुनाव जितेको छ । माओवादीले सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिका जितेको हो । तुलनात्मक रुपमा सभापतिमा चर्चा चलिरहेका लवश्री न्यौपाने नै बलिया उम्मेदवार हुन् ।
कान्छाराम तामाङ र आङटावा शेर्पा घर भएको पालिकामा एमालेले चुनाव जितेको छ । गोकुलगंगा गाउँपालिकामा एमालेका खड्गबहादुर सुनार अध्यक्ष छन् भने उपाध्यक्ष राधिका श्रेष्ठ छिन् । प्रमुख र उपप्रमुख दुबैले एमालेबाट चुनाव जितेका हुन् । गोकुगंगा गाउँपालिका सदरमुकाम मन्थलीबाट लगभग ४० किलोमिटरको दुरीमा छ । साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वडाहरु कायम गरि यो गाउँपालिका घोषणा गरिएको थियो ।
नेपाली काँग्रेसको संगठन मजबुत बनाउँनुको अर्थ पालिकाहरुको चुनाव जित्नु पनि हो । तर नेपाली काँग्रेसको गुटगत झगडाले जिल्लामा जिल्लामा नेपाली काँग्रेस अत्यन्तै कमजोर देखिएको छ । एकै क्षेत्र भएको रामेछाप जिल्लाबाट माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ सांसद छन् । नेपाली काँग्रेसको सैद्धान्तिक पक्षमा बहस गर्न रुचाउँने कृष्णबहादुर महत विजुलीकोट गाविसका अध्यक्ष थिए, जुन लिखु तामाकोशी गाउँपालिकामा समेटिएको छ । महत सभापतिका सशक्तदावेदार हुन् ।
तर काँग्रेसमा जिल्ला सभापति उठ्ने चर्चासँगै क्षेत्रिय प्रतिनिधिमै हराई दिने रोग झांगिदै गएको छ । यद्यपी रामचन्द्र खड्का (जो रामेछाप जिल्लाको पार्टी सभापति भैसकेका व्यक्ति हुन्), लवश्री न्यौपाने, कान्छाराम तामाङ सहभैm महाधिवेशन प्रतिनिधि भएर आउने देखिन्छ भने महीलातर्फ जमुना कार्की, निर्मला घिमिरे, विनिता खड्का, गंगा अधिकारी र जनजातीतर्फबाट आङटेण्डी शेर्पा आउँने सम्भावना छ ।
यदपी, पार्टीका शिर्ष नेताहरु क्रियाशील सदस्यताबारे देखिएका बाँकी विवाद पाँच दिनभित्र टुंग्याउने भनिएको छ । शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको शीर्ष नेताहरूबीचको बैठकले विवादित विषयबारे नयाँ मापदण्ड बनाएर भए पनि विवाद समाधान गर्ने समझदारी गरेको समाचार सार्वजनिक भएको छ । केन्दीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले ७७ जिल्लामा नयाँ क्रियाशीलबारे समस्या समाधान गरेको बताइए पनि बारा, सिन्धुपाल्चोक, रसुवा, सप्तरीमा भने नयाँ क्रियाशील स्थगित गरिएको छ । क्रियाशील टुंग्याउन नसक्दा काँग्रेसले साउन १२ मा गर्ने भनेको वडा अधिवेशन स्थगित भएको छ ।
काँग्रेसमा अहिले ८ लाख ५२ हजार क्रियाशील सदस्य छन् । करीब एक सय वडामा क्रियाशील सदस्यताबारे अझै विवाद भएको छानविन समितिका एक सदस्यले बताएका छन् । यी विवाद ५ दिनमा हल गर्ने शीर्ष नेताबीच सहमति भएको थियो । तीन नेताबीच चुनाव सार्ने सहमति भएको कुरा सञ्चार माध्यममा आइसकेको थियो । यद्यपी, क्रियाशील सदस्यताको विवाद टुंग्याउँने विषयमा शुक्रबार देउवा निवासमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच कुराकानी भएको थियो ।


