तरुण खबर
११ माघ २०८२, आईतवार ११:२०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडियन सामानमा १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्तो चेतावनी दिँदै अमेरिका भित्रिने सबै क्यानेडियन उत्पादनहरूमा कडा ट्यारिफ लगाइने बताएका हुन्।
ट्रम्पले पोस्टमा कुन विशिष्ट सम्झौताबारे संकेत गरेका हुन् भन्ने स्पष्ट नभए पनि यो चेतावनी हालै क्यानडाले चीनसँग घोषणा गरेको ‘रणनीतिक साझेदारी’सँग जोडिएको रूपमा हेरिएको छ। गत हप्ता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग भन्सार शुल्क घटाउने सहमति सार्वजनिक गरेका थिए। सुरुमा ट्रम्पले उक्त कदमलाई ‘राम्रो कुरा’ भनेका थिए।
तर, कार्नीले डाभोसमा दिएको भाषणमा ‘अमेरिका नेतृत्वको विश्व व्यवस्था छिन्नभिन्न हुँदै गएको’ टिप्पणी गरेपछि अमेरिका–क्यानडा सम्बन्धमा चिसोपन बढेको छ। कार्नीले ठूला शक्तिहरूको आर्थिक दबाब सामना गर्न मध्यम शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे पनि ट्रम्पको नाम भने उल्लेख गरेका थिएनन्।
यसको जवाफस्वरूप ट्रम्पले क्यानडा “संयुक्त राज्य अमेरिकाका कारण जीवित रहेको” टिप्पणी गरेका छन्। साथै, उनले आफ्नो प्रस्तावित ‘शान्ति बोर्ड’मा क्यानडालाई समावेश गर्ने निमन्त्रणा पनि फिर्ता लिएका छन्। शनिबार पुनः सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले क्यानडाले चीनका सामान अमेरिका पठाउने ‘ड्रप अफ पोर्ट’ बन्न खोजे त्यो ठुलो गल्ती हुने चेतावनी दिएका छन्।
यता, क्यानडाका अमेरिका–व्यापार मन्त्री डोमिनिक लेब्ल्याङ्कले विज्ञप्ति जारी गर्दै चीनसँग कुनै मुक्त व्यापार सम्झौताको प्रयास नभएको स्पष्ट पारेका छन्। उनका अनुसार केही सीमित भन्सार सम्बन्धी विषयमा मात्र समाधान खोजिएको हो।
ट्रम्पबाट पटक–पटक आइरहेका भन्सार धम्कीका कारण उत्पन्न अनिश्चिततापछि क्यानडाले अमेरिका बाहेक अन्य देशहरूसँग पनि व्यापार विस्तार र विविधीकरण गर्ने रणनीति अघि सारेको देखिन्छ।
यसैबीच, प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच गत हप्ता भएको सहमतिअनुसार चीनले क्यानेडियन क्यानोला तेलमा लाग्दै आएको ८५ प्रतिशत भन्सार आगामी मार्चसम्म १५ प्रतिशतमा झार्ने भएको छ। बदलामा क्यानडाले चिनियाँ विद्युतीय सवारी साधनमा लाग्दै आएको १०० प्रतिशत भन्सार घटाएर ६.१ प्रतिशत कायम गर्ने सहमति गरेको छ।
प्रधानमन्त्री कार्नीले चीनसँगको यो प्रगतिलाई क्यानडालाई “नयाँ विश्व व्यवस्था” का लागि तयार पार्ने कदमको रूपमा व्याख्या गरेका छन्। वर्षौँदेखिको तनाव र पारस्परिक भन्सार शुल्कपछि भएको यो सहमति अन्तर्राष्ट्रिय व्यापारमा क्यानडाको नयाँ दिशाको संकेतका रूपमा हेरिएको छ।


