तरुण खबर
१६ श्रावण २०७८, शनिबार १०:४३
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको प्राथमिकतामा खुद्रा व्यापारी र सार्वजनिक गाडीका चालक
काठमाडौं । विश्वलाई आतंकित बनाइरहेको कोरोनाभाइरसले अधिकांश मुलुकको आर्थिक अबस्था तबाह बनाएको छ । यो अबस्थाभन्दा भिन्न छैन नेपालको अबस्था २ करोड ९६ लाख ९६ हजार जनसंख्या रहेको नेपालमा ३५ लाख ९४ हजार २०२ जनाको नमुना परीक्षण गर्दा ६ लाख ९३ हजार १०९ जना कोरोनाभाइरसका संक्रमित पुष्टि भएको छ । कुल संक्रमितमध्ये ९ हजार ८३४ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको कुल संख्या ३१ हजार १४ जना छन् ।
रोटरी क्लब अफ काष्ठमण्डपले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठललाई शुक्रवार सम्मान गरेको छ । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले उक्त कार्यक्रममा नेपालमा चीन, भारत र अमेरिकाबाट जम्मा ९७ लाख डोज खोप आइसकेको जानकारी दिदै चीन, जापान र भारतबाट थप खोप आउँदैछ उनले बताए । राज्यमन्त्री श्रेष्ठले खोप लगाउने प्राथमिकतामा अब खुद्रा व्यापारी, पर्यटन क्षेत्रका मानिसहरु, स्वास्थ्य कर्मी, शिक्षक, विद्यालयका स्टाफ, सार्वजनिक गाडीका चालक, सहचालक लगायत हुने पनि जानकारी दिएका थिए ।
उनले १२ वर्षमाथि सबै नेपालीलाई पुग्ने गरी अब ५ करोड ५० लाख डोज खोप खरिद गर्ने सरकारको तयारी रहेको बताएका थिए । यसर्थ कोरोनाभाइरस विरुद्धको खोप नै महत्वपूर्ण अस्त्र हो । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ । खुकुलो निषेधाज्ञाले कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने सीसीएमसीको आज बसेको सिंहदरबारको बैठकमा मन्त्रालयले कोरोना संक्रमण बढेको रिपोर्टसँगै स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको थियो ।
नेपालमा २०७८, साउन १५ गते शुक्रबार नेपालमा थप ३ हजार ६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २७ जनाको कोभिड–१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रवार अपराह्ण सार्वजनिक तथ्यांकअनुसार १४ हजार ६६१ जनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ४ हजार ८७८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको थियो । मृतकको तथ्यांकमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको संख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा संक्रमितको कुल संख्या छ लाख ९३ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९ हजार ८३४ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमित ८ हजार ५ सय नाघेको छ । अहिले कुल परीक्षणको २४.६३ प्रतिशतमा संक्रमण देखिएको मन्त्रायलको तथ्यांकले देखाएको छ । विज्ञहरूले यसलाई उच्च दर मानेका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिले कुल ३१ हजार जनाभन्दा केही बढीमा सक्रिय संक्रमण छ । संक्रमितमध्ये २७ हजार ८२० जना घरमा तथा ३ हजार १९४ जना संस्थागत आइसोलेशनमा छन् ।
सङ्क्रमितमध्ये अहिले ६८६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६१ जना भेन्टिलेटरमा छन् । अहिले पुष्टि भएका संक्रमितमध्ये ५५६ जना काठमाडौंमा, ३३३ जना कास्कीमा, २३६ जना झापामा फेला परेका हुन् । सङ्क्रमितको संख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै हुने क्रम अहिले पनि जारी छ ।


