सुनचाँदीको चमक नयाँ उचाइमा

सुनचाँदीको चमक नयाँ उचाइमा तरुण खबर १२ माघ २०८२, सोमबार ११:१५
सुनचाँदीको चमक नयाँ उचाइमा

नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाउँदै आएको छ। पछिल्ला दिनहरूमा लगातार उकालो लागेको सुनको मूल्य आज फेरि उल्लेखनीय रूपमा बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार २०० रुपैयाँले बढ्दै ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। दैनिकजसो बढ्दो दरले सुनको मूल्यले लगानीकर्ता र उपभोक्ताको ध्यान तानेको छ।

यस्तै, चाँदीको मूल्यले पनि आज नयाँ इतिहास रचेको छ। आज चाँदी प्रतितोला २८५ रुपैयाँले बढेर ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो मात्र प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा पुगेर उच्च रेकर्ड बनाएको चाँदीले आज त्यो रेकर्डसमेत तोडेको हो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुन र चाँदीको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। विश्व बजारमा सुन पहिलो पटक प्रति औंस ५,००० अमेरिकी डलरभन्दा माथि पुगेको छ। सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले बढेको सुनको मूल्य २०२६ मा पनि निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड कायम गर्ने क्रममा रहेको देखिन्छ।

चाँदीको अन्तर्राष्ट्रिय मूल्य पनि पहिलो पटक प्रति औंस १०० डलर नाघेको छ। अघिल्लो वर्ष करिब १५० प्रतिशतले बढेको चाँदीको मूल्य यस वर्ष पनि निरन्तर बढ्ने क्रम जारी छ।