तरुण खबर
१२ माघ २०८२, सोमबार ११:१८
पछिल्ला केही वर्षयता गोदरेज ब्रान्डका उपभोक्तामुखी उत्पादन (एफएमसीजी) बिक्री गर्दै आएको म्याट्रिक्स प्राइभेट लिमिटेडको व्यापार क्रमशः विस्तार हुँदै गएको छ। नेपालमा सन् २०१८ मा स्थापना भएको म्याट्रिक्स भारतीय कम्पनी गोदरेज कन्जुमर प्रोडक्ट्सको आधिकारिक वितरकका रूपमा क्रियाशील छ।
कम्पनीले गोदरेजका उत्पादनहरूको बिक्रीमार्फत सन् २०२५ मा १ अर्ब ४७ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष सन् २०२३/२४ मा १ अर्ब ३५ करोड ८० लाख रुपैयाँको कारोबार गरेको म्याट्रिक्सले सन् २०२४/२५ मा करिब ८.३२ प्रतिशत व्यापार वृद्धि हासिल गरेको हो। यसअघि कम्पनीको कारोबार सन् २०२२/२३ मा १ अर्ब २७ करोड ८० लाख र सन् २०२१/२२ मा १ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको थियो।
आम्दानीमा निरन्तर वृद्धि देखिए पनि नाफाको मार्जिन भने घट्दो क्रममा रहेको छ। इक्रा नेपालको रेटिङ प्रतिवेदनअनुसार कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२३ मा ४.४ प्रतिशत रहेकोमा सन् २०२४ मा ३.८ प्रतिशतमा झरेको थियो भने सन् २०२५ मा ३.१ प्रतिशतमा सीमित भएको छ। तीव्र बजार प्रतिस्पर्धा र न्यून मार्जिनमा कारोबार गर्नुपरेका कारण नाफामा दबाब परेको देखिन्छ। कम्पनीको कुल आम्दानीमध्ये करिब ९८ प्रतिशत हिस्सा गोदरेजका उत्पादनबाटै प्राप्त हुँदै आएको छ।
कर्जा व्यवस्थापनतर्फ हेर्दा, इक्रा नेपालले म्याट्रिक्सलाई बैंक कर्जा सुविधाका लागि ८० करोड रुपैयाँको सीमा तोकेको छ। यसमध्ये कम्पनीले करिब ९२ प्रतिशत कर्जा उपयोग गरिसकेको र करिब ८ प्रतिशत मात्र सीमा बाँकी रहेको रेटिङ रिपोर्टमा उल्लेख छ। यसले कम्पनीले ७० करोड रुपैयाँभन्दा बढीको बैंक ऋण प्रयोग गरिसकेको संकेत गर्छ। कर्जा सीमा लगभग अन्तिम विन्दुमा पुगेसँगै आगामी दिनमा तरलता व्यवस्थापनमा थप सतर्कता आवश्यक देखिएको छ।
कम्पनीको वित्तीय स्वास्थ्यमा पनि केही चुनौती देखिएका छन्। सन् २०२४/२५ मा कम्पनीको साँवा तथा ब्याज भुक्तानी क्षमता ०.९ गुणा मात्रै रहेको छ, जसले ऋण दायित्व पूरा गर्न दबाब रहेको संकेत गर्छ। दैनिक सञ्चालन खर्च र आयातका लागि समेत बैंक कर्जामा निर्भर रहनुपरेको अवस्था इक्राको प्रतिवेदनले औंल्याएको छ। उच्च कार्यपुँजी आवश्यकता र लामो व्यापारिक चक्रका कारण ऋणमा निर्भरता बढ्दै गएको हो।
यद्यपि, इक्रा नेपालले म्याट्रिक्सको दीर्घकालीन कर्जा सीमाका लागि ‘इक्राएनपी एलबी प्लस’ र अल्पकालीन कर्जा सीमाका लागि ‘इक्राएनपी ए फोर’ रेटिङलाई पुनः पुष्टि गरेको छ। गोल्छा अर्गनाइजेसनको प्रवर्द्धन र अनुभवले कम्पनीलाई केही वित्तीय लचकता प्रदान गरे पनि घट्दो नाफा, न्यून नगद मौज्दात र उच्च ऋणको भार आगामी दिनका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।


