नेपाल–साउदी श्रम सहकार्य नयाँ चरणमा

नेपाल–साउदी श्रम सहकार्य नयाँ चरणमा तरुण खबर १२ माघ २०८२, सोमबार ११:२२
नेपाल–साउदी श्रम सहकार्य नयाँ चरणमा

एक दशकभन्दा बढी समयदेखि जारी प्रयासपछि नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर भएको छ। साउदी अरबको रियादमा सम्पन्न कार्यक्रममा साधारण श्रमिकको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्नासम्बन्धी सम्झौता टुंगोमा पुगेको हो।

सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्।

हस्ताक्षरपछि भएको भेटवार्तामा मन्त्री भण्डारीले यो सम्झौताले नेपाल र साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत, पारदर्शी र दीर्घकालीन रूपमा मजबुत बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया न्यायोचित, पारदर्शी र लागत–प्रभावकारी बनाउने महत्वपूर्ण आधार तयार गर्नेछ।

सम्झौतामार्फत साउदी अरबमा रोजगारीमा रहेका तथा आगामी दिनमा जाने नेपाली श्रमिकहरूको हकहित संरक्षण, रोजगार सुरक्षा र कार्यस्थलका अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले अव्यवस्थित भर्ना प्रक्रिया, अनावश्यक शुल्क र श्रमिक शोषणजस्ता समस्या न्यूनिकरणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

सरकारका अनुसार यो सम्झौता कार्यान्वयनमा आएसँगै नेपाल–साउदी श्रम सम्बन्ध नयाँ चरणमा प्रवेश गर्नेछ र वैदेशिक रोजगारीलाई थप सुरक्षित तथा मर्यादित बनाउन महत्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।