तरुण खबर
१२ माघ २०८२, सोमबार ११:३४
गरिमा विकास बैंकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेन्ट सदस्यहरूलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने सम्झौता गरेको छ।
सो सम्बन्धी सम्झौता–पत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार चार्टर्ड एकाउण्टेन्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातमा रु. ७५ हजारदेखि रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, आवश्यक प्रक्रिया पूरा गरेपछि बिना धितो रु. १५ लाखसम्म व्यक्तिगत प्रोफेसनल कर्जा लिन पाउनेछन्।
त्यसै गरी विकास बैंकले संघका सदस्यहरूलाई घर कर्जा र सवारी साधन कर्जा पनि आकर्षक ब्याजदरमा उपलब्ध गराउने जनाएको छ। हाल बैंकले “अब आफ्नै घर” भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि एसएमई र व्यवसाय कर्जा प्रवाह गरिरहेको छ।
गरिमा विकास बैंक हाल देशभर १२६ शाखा र ५१ एटिएममार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई नवीनतम डिजिटल बैंकिङ सेवा सहित सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।


