तरुण खबर
१२ माघ २०८२, सोमबार ११:३८
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, चालु आवको पहिलो ६ महिनामा (पुस मसान्तसम्म) कम्पनीले ६२ लाख २६ हजार १३० रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो अघिल्लो वर्षको सोही अवधिसम्मको ७ लाख ३४ हजार ९५८ रुपैयाँ नाफाको तुलनामा ७४७.१५ प्रतिशतको उल्लेखनीय वृद्धि हो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्षको पुस मसान्तसम्म १ करोड ३१ लाख २७ हजार रुपैयाँ रहेको खुद बीमा शुल्क चालु आवमा २११.७५ प्रतिशत बढेर ४ करोड ९ लाख २५ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको कुल आम्दानी ८ करोड १८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ७ करोड २७ लाख रुपैयाँ रहेको छ। दाबी भुक्तानी २ करोड ११ लाख २४ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ। गत वर्ष ०.५६ रुपैयाँ रहेको वार्षिक प्रतिशेयर आम्दानी २.३७ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०२.१२ रुपैयाँ कायम रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ५४ लाख ३२ हजार, महाविपत्ति कोषमा ५ लाख ४३ हजार र रिटेन्ड अर्निङमा ३ लाख ९९ हजार रुपैयाँ सञ्चित छ।
यस अवधिमा कम्पनीले कुल ६९ हजार ५१६ वटा बीमा पोलिसी जारी गरी १७ करोड ५ लाख ६४ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १० करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो।


