तरुण खबर
१२ माघ २०८२, सोमबार ११:४१
पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा संलग्न छन्। महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाका अनुसार पछिल्ला वर्षमा मौरीपालनतर्फ सर्वसाधारणको आकर्षण उल्लेख्य रूपमा बढिरहेको छ।
महानगरभित्र विशेषत: वडा नं. १६, १८, २०, २३, २६, २८, ३०, ३३ मा मौरीपालनमा रुचि बढी देखिएको छ। हाल महानगर क्षेत्रमा वार्षिक करिब ९० टन मह उत्पादन भइरहेको छ र उत्पादनको मात्रा बढ्दै गएको कडरियाले बताए।
महानगर क्षेत्रमा मुख्यतया सेरेना जातका मौरीपालन हुने गरिएको छ। कडरियाका अनुसार बजारमा महको माग निरन्तर बढ्दो छ र उत्पादन बढाउन सकिएमा बजारको समस्या नहुने अवस्था छ। “यस क्षेत्रमा मह उत्पादनको सम्भावना राम्रो भएकाले आय आर्जनको महत्वपूर्ण विकल्प बन्ने देखिन्छ,” उनले भने।
मौरीपालनबाट अन्य कृषिजन्य उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले यस व्यवसायलाई व्यावसायिक बनाउन विभिन्न तालिमहरू पनि सञ्चालन भइरहेको छ। अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजनामा तथा पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रको समन्वयमा किसानहरूलाई मौरीपालक तालिम प्रदान गरिँदै आएको छ।
हाल आइतबारदेखि महानगरपालिका–२६ लेखनाथ ढलेपिपल कृषि सेवा केन्द्रमा ६५ दिने मौरीपालक तह–१ तालिम सुरु गरिएको छ। यस तालिममा महानगर क्षेत्रका २० अगुवा किसान सहभागी भएका छन्।
कडरियाले बताएअनुसार तालिमले किसानलाई मौरीपालन व्यवसायमा दक्ष बनाउने, उत्पादन वृद्धि गर्ने र आर्थिक सम्भावना बढाउने लक्ष्य राखिएको छ। यस प्रयासले पोखरा क्षेत्रमा मौरीपालन व्यवसायलाई थप व्यवासायिक र आयमुखी बनाउने अपेक्षा गरिएको छ।


