तरुण खबर
१३ माघ २०८२, मंगलवार १०:५६
नेपाल राष्ट्र बैंकले आगामी आमनिर्वाचनलाई ध्यानमा राख्दै राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता खोल्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
निर्वाचन आयोगको अनुरोधमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गर्न लगाएको हो। यस अन्तर्गत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा राजनीतिक दल, प्रत्यक्ष र समानुपातिक उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन अभियान समूह वा सोही प्रकृतिको नाममा छुट्टै बैंक खाता सञ्चालन गर्न पाउनेछन्।
राष्ट्र बैंकका अनुसार, एकीकृत निर्देशन, २०८२ अनुसार एउटै व्यक्तिले एउटै बैंकमा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाउने प्रावधान भए पनि निर्वाचन प्रयोजनका लागि खोलिने यी खातामा उक्त नियम लागु हुने छैन। यसले उम्मेदवारहरूलाई व्यक्तिगत र चुनावी खर्च छुट्टाछुटै व्यवस्थित गर्न सजिलो बनाउने उद्देश्य राखिएको छ।
निर्वाचन आयोगले खाता बन्द गर्न निर्देशन नदिइसक्दा सम्म यी खाताहरू सञ्चालन गर्न सकिनेछन्। यस कदमले निर्वाचन प्रक्रियामा पारदर्शिता बढाउने र चुनावी खर्चको स्पष्ट लेखाजोखा सुनिश्चित गर्ने विश्वास गरिएको छ।


