तरुण खबर
१४ माघ २०८२, बुधबार ११:०७
प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले पुस मसान्तसम्म १ अर्ब १ करोड ४४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा बैंकको खुद नाफा वार्षिक आधारमा २४.०७ प्रतिशतले घटेको देखिन्छ।
नाफामा गिरावट देखिए पनि बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य सुधार आएको छ। अघिल्लो वर्ष ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यो वर्ष बढेर ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ पुगेको छ।
तर, सञ्चालन मुनाफा भने दबाबमा परेको छ। अघिल्लो वर्ष २ अर्ब ५२ करोड २८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा घटेर यस वर्ष १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। बैंकले यस अवधिमा खराब कर्जा व्यवस्थापन (इम्पेयरमेन्ट चार्ज) का लागि १ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ, जसले मुनाफामा थप असर पारेको देखिन्छ।
वित्तीय सूचकहरूअनुसार बैंकको प्रतिशेयर आम्दानी (EPS) वार्षिक ८ रुपैयाँ ६२ पैसा कायम भएको छ। वितरणयोग्य मुनाफा भने ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ सञ्चित छ।
व्यवसाय विस्तारतर्फ बैंकले ३ खर्ब ४७ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको खराब कर्जा अनुपात ७.९४ प्रतिशत रहेको छ भने आधार दर घटेर ५.३६ प्रतिशतमा झरेको छ।
यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा कायम भएको छ भने मूल्य–आम्दानी (P/E) अनुपात २१.२७ गुणा रहेको छ। समग्रमा, प्रभु बैंकको नाफा दबाबमा रहे पनि ब्याज आम्दानी र आधार दरमा देखिएको सुधारले आगामी अवधिमा वित्तीय स्थायित्वतर्फ संकेत गरेको विश्लेषण गर्न सकिन्छ।


