तरुण खबर
१४ माघ २०८२, बुधबार ११:११
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ५६ करोड ४८ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा बैंकको खुद नाफा वार्षिक रूपमा ३६.४० प्रतिशतले घटेको देखिन्छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ। अघिल्लो वर्ष २ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी १३.८४ प्रतिशतले घटेर २ अर्ब ४७ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, खुद फि तथा कमिसन आम्दानी ८.५२ प्रतिशतले घटेर ६२ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
नाफा र आम्दानी घटेसँगै बैंकको सञ्चालन मुनाफामा पनि असर परेको छ। अघिल्लो अवधिको तुलनामा सञ्चालन मुनाफा घटेर ५० करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ। बैंकले यस अवधिमा खराब कर्जा व्यवस्थापन (इम्पेयरमेन्ट चार्ज) का लागि ६४ करोड २० लाख रुपैयाँ छुट्याएको छ।
वितरणयोग्य मुनाफाको अवस्था झनै कमजोर देखिएको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १८ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। वित्तीय सूचकहरूअनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी (EPS) ४ रुपैयाँ ६३ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४१ पैसा रहेको छ।
पूँजी संरचनातर्फ हेर्दा बैंकको चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ सञ्चित छ। व्यवसाय विस्तारतर्फ बैंकले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात बढेर ४.४६ प्रतिशत पुगेको छ भने आधार दर (बेस रेट) ७.३० प्रतिशत कायम रहेको छ। समग्रमा, सिटिजन्स बैंकको वित्तीय अवस्था नाफा, आम्दानी र वितरणयोग्य मुनाफाका हिसाबले दबाबमा देखिएको छ।


