चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा नेपाल बैंक लिमिटेडले आफ्नो वित्तीय नतिजामा उल्लेखनीय सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा १८३.०४ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिमा बैंकले १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ४६ करोड १० लाख १७ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो।
नाफामा आएको ठूलो सुधारसँगै बैंकको सञ्चालन मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा सञ्चालन मुनाफा ३९४.६४ प्रतिशतले बढेर २ अर्ब ६ करोड १५ लाख ६ हजार रुपैयाँ पुगेको छ।
बैंकको नाफा उकासिनुको प्रमुख कारण इम्पेयरमेन्ट चार्जमा आएको तीव्र गिरावट हो। अघिल्लो वर्ष २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष घटेर ४७ करोड ९९ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ, जसले नाफामा सकारात्मक प्रभाव पारेको छ।
यद्यपि, आम्दानीतर्फ भने केही दबाब देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख १५ हजार रुपैयाँमा झरेको छ। त्यस्तै, खुद फि तथा कमिसन आम्दानी पनि १७.१६ प्रतिशतले घटेर ४४ करोड ८४ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ।
वितरणयोग्य मुनाफाको अवस्था भने अझै कमजोर देखिएको छ। यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक देखिएको छ।
वित्तीय सूचकहरूअनुसार बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४९ पैसाले वृद्धि भई १७ रुपैयाँ ७६ पैसा पुगेको छ। हाल बैंकको मूल्य–आम्दानी (P/E) अनुपात १३.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा कायम भएको छ।
यस अवधिमा बैंकको आधार दर (बेस रेट) ४.९६ प्रतिशत कायम भएको छ भने खराब कर्जा अनुपात बढेर ५.३४ प्रतिशत पुगेको छ। पूँजी संरचनातर्फ बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष तथा बचत २३ अर्ब ८६ करोड ७४ लाख ३५ हजार रुपैयाँ रहेको छ।
व्यवसाय विस्तारतर्फ बैंकले ३ खर्ब ६४ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब ३० करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। समग्रमा, खर्च व्यवस्थापनमा सुधारका कारण नेपाल बैंक लिमिटेडको नाफामा यस अवधिमा ऐतिहासिक उछाल आएको देखिएको छ।




