तरुण खबर
१६ माघ २०८२, शुक्रबार ११:२८
शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्ना कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै सिराहा जिल्लाको मिर्चैयास्थित कारखानामा वार्षिक स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त शिविर फूलकुमारी महतो मेमोरियल अस्पतालको सहकार्यमा आयोजना गरिएको हो।
स्वास्थ्य शिविरमार्फत करिब २५० जना कर्मचारी तथा श्रमिकहरू लाभान्वित भएका छन्। शिविरमा सहभागीहरूको सामान्य स्वास्थ्य परीक्षण, आवश्यक चिकित्सकीय परामर्श प्रदान गर्नुका साथै स्वास्थ्यसम्बन्धी सचेतनासमेत दिइएको थियो।
कम्पनीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य कर्मचारीहरूको स्वास्थ्यप्रति जिम्मेवार रहँदै सुरक्षित, स्वस्थ र उत्पादनशील कार्य वातावरण निर्माण गर्नु रहेको छ। नियमित स्वास्थ्य परीक्षणले रोगको समयमै पहिचान गर्न सहयोग पुग्नुका साथै कार्यक्षमता र मनोबल अभिवृद्धि हुने विश्वास कम्पनीले लिएको छ।
शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले सामाजिक उत्तरदायित्व र कर्मचारी कल्याणलाई आफ्नो मुख्य प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीको यो पहललाई कर्मचारीमैत्री र उत्तरदायी उद्योगको उदाहरणका रूपमा हेरिएको छ।


