काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनलाई निरन्तरता दिँदै कैफियत भेटिएका दुईवटा व्यवसायिक फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार अनुगमनका क्रममा कानुन विपरीत गतिविधि देखिएपछि सम्बन्धित फर्महरूमाथि कारबाही अघि बढाइएको हो।
विभागले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीमा सञ्चालनमा रहेको श्रेष्ठ खाद्य स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। यस्तै, टोखा नगरपालिका–७ मा रहेको घिमिरे रिजन किनारा स्टोर्सलाई पनि १० हजार रुपैयाँ नगद जरिवाना गरिएको विभागले जनाएको छ।
यसैबीच, ब्लास्ट फेसन कलेक्सनलाई भने व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। कागजात नपुगेको र प्रक्रिया अपुरो देखिएपछि थप स्पष्टिकरणका लागि बोलाइएको विभागले जानकारी दिएको छ।
अनुगमनकै क्रममा थप १७ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ। ती फर्महरूलाई तोकिएको समयभित्र कमजोरी सच्याउन र कानुनी मापदण्ड पालना गर्न विभागले आग्रह गरेको छ।
विभागका अनुसार स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गरिँदै आएको छ। यस प्रकारका अनुगमनले उपभोक्ता हित संरक्षण गर्नुका साथै बजारलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्य राखिएको विभागले जनाएको छ।




