काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिएका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन अवस्था अपेक्षाअनुसार तीव्र हुन नसकेको पाइएको छ । नेपाल उद्योग परिसंघ (क्यान) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संयुक्त रूपमा आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार बजेटमा समावेश गरिएका कुल ७४ बुँदामध्ये दोस्रो त्रैमासिक (कात्तिक–पुस) सम्ममा ९ वटा बुँदा मात्र पूर्ण रूपमा कार्यान्वयन भएका छन् । यद्यपि, ४५ बुँदामा आंशिक प्रगति देखिएको छ, जसले बजेट कार्यान्वयनले क्रमशः गति लिँदै गएको संकेत पनि दिएको छ । बाँकी २० बुँदामा भने हालसम्म कुनै प्रगति नभएको तथ्याङ्कमा उल्लेख छ ।
क्षेत्रगत रूपमा हेर्दा उद्योग, ऊर्जा, पूर्वाधार र पर्यटनजस्ता अर्थतन्त्रका प्रमुख क्षेत्रका कार्यक्रमहरू अपेक्षाकृत सुस्त देखिएका छन् । उद्योगतर्फका २७ बुँदामध्ये ५ वटा पूर्ण रूपमा कार्यान्वयन भएका छन् भने १४ वटा आंशिक प्रगतिमा छन् । ८ वटा बुँदामा भने शून्य प्रगति रहेको क्यानले जनाएको छ ।
ऊर्जा तथा पूर्वाधार क्षेत्रका १४ बुँदामध्ये ३ वटा पूर्ण कार्यान्वयन भएका छन् । ८ वटा बुँदामा आंशिक प्रगति देखिएको छ भने ३ वटामा काम सुरु हुन बाँकी रहेको छ । यसैगरी कृषि तथा जडीबुटी, पर्यटन, वित्तीय क्षेत्र, श्रम, रोजगार र शिक्षा क्षेत्रका आयोजनामध्ये हालसम्म एउटा पनि पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको अध्ययनमा उल्लेख छ ।
सूचना प्रविधि क्षेत्रमा भने सीमित तर सकारात्मक प्रगति देखिएको छ । यस क्षेत्रका ६ बुँदामध्ये १ वटा पूर्ण कार्यान्वयन भएको छ भने ३ वटा आंशिक र २ वटा बुँदामा शून्य प्रगति रहेको छ ।
बजेट कार्यान्वयन अवस्थालाई प्रतिवेदनले तीन श्रेणीमा वर्गीकरण गरेको छ । ‘शून्य प्रगति’ अन्तर्गत काम सुरु नै नभएको वा घोषणा मात्र सीमित रहेका कार्यक्रम राखिएको छ । ‘आंशिक प्रगति’ मा बैठक बसेको, कार्यविधि बनेको तर ठोस कार्यान्वयन सुरु नभएको अवस्था जनाइएको छ । ‘पूर्ण कार्यान्वयन’ भन्नाले घोषणा भई प्रत्यक्ष रूपमा कार्यान्वयनमा गइसकेका कार्यक्रमलाई जनाइएको छ ।
क्यान र सेजनले आगामी दिनमा कार्यान्वयनको गति बढाउन सरोकारवाला निकायबीच समन्वय, स्पष्ट कार्ययोजना र समयमै निर्णय आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरेका छन् ।




