तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, ३० अर्ब निक्षेप संकलन हुँदै

तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, ३० अर्ब निक्षेप संकलन हुँदै तरुण खबर १० फाल्गुन २०८२, आईतवार ११:३३
तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, ३० अर्ब निक्षेप संकलन हुँदै

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज पुनः ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ८७ दिनका लागि उक्त रकम तान्न लागेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज (फागुन १० गते) दिउँसो २:०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले ब्याजदर उल्लेख गरी बोलकबोल गर्नुपर्नेछ। बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

निक्षेप दिन चाहने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था छ।

आज निष्कासन गरिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी २०८३ जेठ ६ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखी रकम बाँडफाँड गरिनेछ।

बैंकिङ प्रणालीमा देखिएको अतिरिक्त तरलता सन्तुलनमा राख्दै वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो उपकरण प्रयोग गर्दै आएको छ।