शिखर पावरको आईपीओमा आवेदन दिने अन्तिम अवसर

शिखर पावरको आईपीओमा आवेदन दिने अन्तिम अवसर तरुण खबर २६ फाल्गुन २०८२, मंगलवार ११:२३
शिखर पावरको आईपीओमा आवेदन दिने अन्तिम अवसर

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन १७ गतेदेखि दोस्रो चरणको शेयर बिक्री खुला गरेको थियो।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अहिले भने कम्पनीका कर्मचारी र सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री प्रक्रिया अघि बढाइएको हो।

कम्पनीले कुल ९८ करोड रुपैयाँ जारी पूँजीको ३२ दशमलव ६५ प्रतिशत बराबर ३२ करोड रुपैयाँको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ लाख ८० हजार कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २२ हजार कित्ता शेयर बाँडफाँट भइसकेको छ।

दोस्रो चरणमा कम्पनीका कर्मचारीका लागि ४४ हजार ४०० कित्ता शेयर छुट्याइएको छ भने बाँकी १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याइएको छ। यस शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो शेयर प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।