तरुण खबर
२६ श्रावण २०७८, मंगलवार ०८:३१
भक्तपुरबाट व्यापारको सिलसिलामा जिजुबाजे रामप्रसाद श्रेष्ठ प्युठान पुग्नुभएछ, हामी नेपालगन्जमै जन्मेहुर्केका हौं । मेरो बाजे झोझेन्द्रमान नै नेपालगन्ज आउनु भएको रे । बुबा कृष्णमान श्रेष्ठले बडाहाकिम प्रकाशशमशेरको सिफारिस लिएर बहराइच गएर पढ्नु भएको हो । २०१३ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएका बुबा २०४४ असोजमा डीएसपीबाट रिटायर्ड हुनुभएको हो । रिटायर्ड भएपछि उहाँ राजनीतिमा सक्रिय हुन थाल्नुभयो । उहाँ उडरापुर गाविसको अध्यक्ष पनि बन्नुभयो । खजुराको मुख्य सडक बनाउने बेला बुबालाई सातवटा मुद्दा लगाइएको थियो । यो सडकमा गाउँलेहरूको श्रमदान परेको छ । जनसहभागिताबाटै सडक बनाइएको हो । अहिले त धेरै सुख–सुविधा छ । विकास भनेको मान्छेहरूमा आयआर्जन भएको देखिने प्रक्रिया पनि हो । त्यो देखिने क्रममा छ । यस वडामा बसोबास गर्नेमध्ये ९० प्रतिशतलाई आप्mनै कमाइले खान लाउन पुग्छ । कोही कोही अहिले रोजगारीका लागि विदेश पनि गएका छन् ।
साविक उडरापुर गाविसको वडा नम्बर १, ३, ४, ५, ८ र ९ मिलाएर खजुरा गाउँपालिकाको वडा नम्बर ५ बनाइएको हो । बाँकी २, ६ र ७ साविक वडाहरूका गाउँ बस्ती मिलाएर खजुरा गाउँपालिकाको ६ नम्बर वडा बनाइएको छ । यो वडाको जनसंख्या करिब ६ हजार छ । बसन्तपुर, उडरापुर, रजनवा, जुगुनिया, डलैपुर यस वडाका प्रमुख गाउँहरू हुन् । वडा नम्बर ५ मा नेरा प्राथमिक विद्यालय, बसन्तपुर र नेरा प्रावि रजनवा गरी दुईवटा प्रावि मात्र छन् । यी दुवै विद्यालयमा गरी करिब पाँच सय जति विद्यार्थी छन् । विद्यार्थी संख्याको तुलनामा शिक्षक दरबन्दी पुगेको छैन ।
गुणस्तरिय शिक्षा, व्यवहारिक शिक्षा र सबैका लागि शिक्षा दिने उद्देश्य छ तर यसका लागि गाउँपालिकाको मात्र सीमित बजेटबाट सम्भव छैन । केन्द्रीय सरकारको नीतिगत निर्णय र आर्थिक सहयोग आवस्यक छ । उडरावपुर गाविसमा भएको भानु मावि अहिले वडा नम्बर ६ मा प¥यो, सीमा क्षेत्रमै परेकाले वडा नम्बर ५ का सबैलाई पायक पर्छ । हेल्थ असिस्टेन्टको दरबन्दी भएको एउटा स्वास्थ्य चौकी यही वडाको पसियानपुरमा छ । स्थानीय जनताले दैनिक सेवा पाइरहेका छन्, कतिपय औषधि निःशुल्क पनि छ । दैनिक १५ जना जति सेवाग्राही आउँछन् । समय समयमा स्वास्थ्य शिविर चलाउने गरिएको छ । जेष्ठ नागरिकको घरमै पुगेर सामान्य चेकजाँच पनि गरिन्छ । वडाको ६–७ किलोमिटर मूल सडकमध्ये आधा पिच भएको छ भने बाँकी सडक विस्तार गरी पिच गर्ने काम हँुदैछ । यो वडामा पुराना मठमन्दिर छैनन् । एउटा पुरानो मस्जिद छ । अरु मस्जिद भने भर्खर भर्खर थपिएका हुन् ।
हाम्रो क्षेत्रको अर्को समस्या शीतभण्डारको अभाव पनि हो । यो समस्या समाधानका लागि करिब नौ करोड रुपैयाँ लागतमा निर्माण प्रक्रिया अघि बढेको छ । मेरो वडामा गाउँपालिकाले गौरवको योजनाका रूपमा शीतभण्डार निर्माण प्रक्रिया अघि बढाएको छ । उढरापुरमा एक बिघा सात कठ्ठा जमिनमा बन्ने यो शीतभण्डारको क्षमता एक हजार ५०० मेट्रिकटन रहनेछ । भण्डारको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ । प्रदेश सरकार, गाउँपालिका र सहकारी सञ्जालको संयुक्त सहकार्यमा बन्ने भण्डारले खजुरा क्षेत्रलाई कृषि प्रवद्र्धनमा थप सहयोग पुग्नेछ । लुम्बिन्र प्रदेश सरकारले पाँच करोड गाउँपालिकालाई निकासा गरिदिएको छ ।
बाँकी चार करोडको ५१ प्रतिशत गाउँपालिकाले लगानी गर्ने र ४९ प्रतिशत खजुरामा रहेका क्रियाशील सहकारी सञ्जालले लगानी गर्ने सहमति भएको छ । साझेदारी नमुनाका रूपमा निर्माण भइरहेको शीतभण्डारका लागि गाउँपालिकाले नयाँ नीति बनाई व्यवस्थापन र सञ्चालन गर्ने विधिमा अगाडि बढेको छ । पहिलो चरणमा दुई करोड ७८ लाख बराबरको कम्पाउन्ड पर्खाल र ढाँचा आगामी वैशाखसम्म निर्माण गरिने लक्ष्य छ । शीतभण्डारको निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा तरकारीको व्यावसायिक खेती फस्टाउने अपेक्षा लिएका छौं । शीतभण्डार नजिकै करिब ६ कट्ठा जग्गामा प्राविधिक विद्यालय बनिरहेको छ ।
धेरै गाउँपालिका, नगरपालिकाहरूले वडाध्यक्षहरूलाई यातायातको सुविधाका लागि मोटरसाइकल दिएका छन्, तर खजुरा गाउँपालिकाका सबै वडाध्यक्षहरूले अफूले पाएको सुविधाको रकम प्राविधिक विद्यालयका लागि दिनुभएको छ । ३० लाखको अनुमानित लागतमा बनिरहेको भवनमा स्थानीय जनतालाई स्वरोजगारमूलक सीप सिकाइने छ । सिलाइ–बुनाइ, इलेक्ट्रिक वाइरिङ, प्लम्बिङलगायतको तालिम दिइने छ ।
(नेपाली काँग्रेसबाट निर्वाचित खजुरा गाउँपालिका, वडा नम्बर ५ का अध्यक्ष देवेन्द्रमान श्रेष्ठसँग परशु घिमिरेले गरेको कुराकानी आधारमा यो लेख तयार पारिएको हो । उनी काँके जिल्ला काँग्रेस पूर्व सभापति कृष्णमान श्रेष्ठका सुपुत्र पनि हुन् ।)


