तरुण खबर
२७ श्रावण २०७८, बुधबार ११:३४
केशवराज शर्मा
नेपालगञ्ज । जसरी पोखरा पर्यटकीय केन्द्रका रूपमा चिनिन्छ, विराटनगर औद्योगिक केन्द्रका रूपमा चिनिन्छ, वीरगञ्ज व्यापारिक केन्द्रका रूपमा चिनिन्छ त्यसरी नै आफूलाई खेलकुदको केन्द्रका रूपमा चिनाउने प्रयत्न गर्दैछ खजुराले । यो सम्भावना नजिकिइसकेको बताउनु हुन्छ– वडा नम्बर ४ का अध्यक्ष एवं न्यु डाँफे क्लबका अध्यक्ष तिलकवीर सुनार । पश्चिम नेपाल यसै पनि खेलकुदको सम्भावना बोकेको क्षेत्र हो । मुलुकका आधाभन्दा बढी राष्ट्रिय खेलाडीहरू पश्चिम नेपालकै छन् । पश्चिम नेपालका लागि सबैभन्दा पायक पर्ने, पूर्वाधर निर्माणका लागि पनि सहज, हालसम्म मुलुककै दोस्रो ठूलो धावनमार्ग भएको नेपालगञ्ज विमानस्थलका कारण खजुरा क्षेत्र खेलकुदको राजधानी बन्ने चरणमा प्रवेश गरेको छ । पश्चिम नेपालका तीनवटा प्रदेशका आन्तरिक प्रतिस्पर्धा मात्रै होइन, राष्ट्रियस्तरका प्रतियोगिताका लागि समेत तयार भइसकेको छ । खजुरामा पहिलो राष्ट्रिय प्रतियोगिता २०६७ सालमा आयोजना भएको थियो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका महत्वपूर्ण चार विधाका खेल खजुरामा भए । राजधानी काठमाडौं, पोखरा र जनकपुरमा भन्दा खजुरामा भएका प्रतियोगितामा धेरै दर्शक थिए । यो प्रतियोगिताले देशभरि खजुरालाई चिनाउने अवसर मात्रै दिएन, खेलाडी, अफिसियल, पत्रकार, खेलप्रेमी ठूलो संख्यामा खजुरा पुगे । खजुराको खेलले पर्यटनको सम्भावना उजागर भयो ।
खजुरामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको फुटबल, बक्सिङ, महिला तथा पुरुष भलिबल, महिला हक्की आयोजना गरिएको थियो । ‘खेलका लागि राम्रा पूर्वाधार हुने हो भने खजुरामा राम्रा प्रतियोगिता आयोजना हुन सक्छन् र त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई खजुरामा भित्र्याउन मद्दत पुग्छ’ भन्ने निष्कर्र्षमा गाउँपालिका पुगेको छ । त्यसबेला डी गाउँमा फुटबल, ज्ञानोदयको खेल मैदानमा बक्सिङ, सीतापुरको भलिबल रंगशालामा महिला तथा पुरुष भलिबल, शुक्र माविको खेलमैदानमा हक्की प्रतियोगिता आयोजना सफलतापूर्वक सम्पन्न हुँदा खजुरालाई देशमै राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको सन्देश दिएको थियो । फुटबलको अन्तर्राष्ट्रियस्तरको रंगशाला नेपालगन्जमा छ । एउटा रंगशालाले मात्रै फुटबलको ठूलो प्रतियोगिता आयोजना सम्भव हुँदैन । किनभने प्रतियोगिता आयोजना गर्दा अभ्यासका लागि अन्य मैदानहरू पनि आवश्यक पर्छ । त्यो विकल्प खजुराको वडा नम्बर ४ ले दिइसकेको छ ।
आगामी आर्थिक वर्षमै गाउँपालिकाभित्र निर्माण भइरहेको वडा नं ४ स्थित रंगशालालाई पूर्णता प्रदान गर्न र अन्य वडामासमेत कभर्ड हल, रंगशाला र प्रशिक्षण केन्द्र निर्माण कार्यका लागि सम्भाव्यता अध्ययन गरी कार्य सुरु गरिने गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति बताउनुहुन्छ ।
खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तिलकवीर सुनारका अनुसार नेपालगन्जपछिको फुटबल खेलमैदान खजुरामा छ । मैदान स्तरीय बनाउन गत आर्थिक वर्ष ४६ लाख २० लाख रुपैयाँ भइसकेको छ । प्याराफिटको काम करिब करिब आधा सकिएको छ । खेल पूर्वाधार थप्दै जाने र प्रतियोगिता आयोजना गर्ने हो भने खेल पर्यटनको प्रशस्त सम्भावना छ । गाउँपालिकाले खेल पर्यटनको सम्भावनालाई बुझेर पूर्वाधार र प्रतियोगिता आयोजनाका लागि बजेट विनियोजन गर्ने नीति लिएको छ । ग्रामीण परिवेशमा माटोमा खेलेर राष्ट्रिय खेलाडी जन्माउने ठाउँ खजुरा नै हो । खेल्नका लागि मैदान चाहिन्छ । खजुराका धेरै विद्यालयसँग आफ्ना ठूला मैदानहरू छन् । मैदानहरूकै कारण खेल्ने वातावरण तयार हुन्छ र अहिले नेपालगञ्जको विकल्प खजुरा बन्दैछ । खेल पूर्वाधारहरू निर्माण गर्न गाउँपालिकाले सम्भावना अध्ययनका लागि उक्त विषयलाई आफ्नो नीति तथा कार्यक्रममा नै समावेश गरिसकेको छ ।
राष्ट्रिय भलिबल संघले दोस्रो राष्ट्रिय पुरुषबीच भलिबल आयोजना खजुरामा आयोजना गरिसकेको छ । खजुरामा बीच भलिबल मात्रै नभएर बीच फुटबललगायतका प्रतियोगिताको सम्भावना पनि उत्तिकै रहेको छ । खजुरामा नेपाल एथलेटिक्स संघले राष्ट्रिय युथ एथलेक्टिस प्रतियोगिता आयोजना गरिसकेको छ । खजुरामा वडास्तरीय होस् वा जिल्ला वा राष्ट्रिय खेल, दर्शकहरूको घुइँचो हुने गरेको छ । खजुरामा स्थानीयस्तरका प्रतियोगिताहरू पनि आयोजना भइरहन्छन् । स्थानीय सरकार आएपछि पालिकास्तरीय मेयर कपको आयोजना गत वर्षदेखि सुरु भइसकेको छ । अध्यक्ष किस्मतकुमार कक्षपति आगामी वर्ष पनि मेयर कपलाई निरन्तरता दिने पक्षमा हुनुहुन्छ ।
गाउँपालिका मात्रै नभएर खजुराका वडाले समेत खेलकुद प्रतियोगिताका लागि बजेट छुट्याउने गरेका छन् । निजी विद्यालयहरूको संगठन इशाकाले प्रत्येक वर्ष इशाकास्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबहरूले पनि ठूला प्रतियोगिता आयोजना गर्दै आएका छन् । न्यू डाँफे स्पोटर््सले प्रत्येक वर्ष ठूलो धनराशि पुरस्कार रहेको खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलाडीहरूले समेत खेल्ने गरेका छन् । त्यस्तै न्यू डाँफे क्लबले जिल्ला स्तरिय प्रतियोगिताबाट पटक–पटक सम्मान पाएको छ । त्यस्तै, शुक्र आधारभूत विद्यालयको चर बिघा जग्गामध्ये एक बिघामा क्रिकेट मैदान बनाइएको छ । बाँके जिल्लास्तरीय प्रतियोगिता आयोजना भइरहने दर्पण युवा क्लवका अध्यक्ष दलबहादुर बिसी बताउनुहुन्छ । भौतिक पूर्वाधार निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले आश्वासन दिनुभएको बिसीले बताउनुभयो ।
अध्यक्ष कक्षपतिले गाउँपालिकाभित्र दर्ता भएका क्लबहरूलाई खेल सामग्री सहयोग उपलब्ध गराउन पहल गरिने बताउनुभयो । गाउँपालिकाका वडाहरूमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न उत्प्रेरित गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरूलाई सम्मान गरिन उहाँले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा गाउँपालिकाका तर्फबाट खेलाडीलाई सहभागी गराउन अन्तर्राष्ट्रियस्तरका तालिमहरूमा सहयोग गर्ने गाउँपालिकाको नीति रहेको गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले बताउनुभयो । उहाँले चालू आवमा खेलकुद विकास कार्यक्रमअन्तर्गत पालिकाबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
आठौँ खेलकुदले शुक्र भलिबल स्टेडियम बनाउने सुनिश्चित गर्नुका साथै खेलकुद सञ्चालन भएका विद्यालयहरूमा पनि केही पूर्वाधार तयार भएका छन् । खेलकुदको ‘हव’ बनाउने लक्ष्यका साथ अघि बढेको खजुरा गाउँपालिकामा राष्ट्रिय खेलकुद प्रतियोगिताले थप मद्दत पुगेको उपाध्यक्ष विकले बताउनुभयो । खजुरालाई खेलकुदको ‘हव’ बनाउने सवालमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कोशेढुंगा साबित भएको खजुरावासीको ठम्याइँ छ ।
प्रदेशहरुको खेलकुद हब
विद्यालयहरूलाई व्यवस्थित पुनर्वासका क्रममा र अन्य अवसरमा छुट्याइएका फराकिला मैदानहरू, ठूला रंगशालाका लागि समेत आवश्यक जमिन जोहो गर्नसक्ने गाउँपालिकाको क्षमता र सुदूर तथा मध्यपश्चिम क्षेत्रलाई जोड्ने सहज सडक सञ्जालले खजुरालाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खेलकुदको मुख्य क्षेत्र बनाउन सकिने सम्भावना प्रबल देखिन्छ । बन्दै गरेको मिनी रंगशालालगायत खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध गाउँपालिकाको टोली आफैंमा खजुरालाई व्यवस्थित र भव्य खेल सहरको रूपमा स्थापित गर्न सक्ने थप आधारहरू हुन् । वर्षेनी खेलकुद प्रतियोगिताहरूको आयोजना खेलकुदमा स्थानीयहरूको रुचि र राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल आयोजना जस्ता सवल पक्षहरू खेलकुद पर्यटनका आधार बन्न सक्छन् ।
मिनी रंगशाला फोटो
हाल कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई मध्यनजर गर्ने हो भने पनि खजुराको वर्तमान अवस्थिति र पूर्वाधार विकासमा गाउँपालिकाले देखाउन थालेको तदारुकताका कारण यो क्षेत्र खेलकुद हबका रूपमा विकास हुन सक्ने प्रशस्तै सम्भावना छन् । खजुराको खेलकुद हबका रूपमा देखिएको सम्भावनालाई लिएर राष्ट्रिय समाचार समितिले एउटा समाचार पनि सम्प्रेषण गरेको थियो ।


