तरुण खबर
२९ श्रावण २०७८, शुक्रबार ०९:०२
बाँकेको खजुरा गाउँपालिका–८ को साविकको रनियापुर गाविसलाई पालिकाको वडा नम्बर ८ कायम गरिएको छ । खजुरा बजारबाट करिब चार किलोमिटर उत्तर तथा पूर्वपश्चिम राजमार्गबाट करिब सात किलोमिटर दक्षिणमा पर्ने सुनौला टोल, ठाकुरपुर, बुधनपुर, सोल्टीपुर, क्रान्तिपुर, घ्या, छोवडेपुर, दाहवा, वेलडम्रा, दंगालीपुर चमकदारपुर र रनियापुरलगायतका गाउँहरू यो वडाभित्र पर्छन् । जनसंख्या करिब ११ हजार छ । हाम्रो वडाको धेरैजसो पुरानै बस्ती हो । ८० देखि ९० प्रतिशतको हाराहारीमा मुसलमानको जनसंख्या छ । करिब चार सय घर थारु जातिका छन् । १५–२० घर मधेसी, १५–२० घर पहाडी क्षेत्री–बाहुन र ५–६ घर मगर जातिका होलान् ।
शैक्षिक इतिहास हेर्ने हो भने रनियापुर नेपालकै थोरै गाउँहरूमा पर्छ । जहाँ आजभन्दा एक सय सात वर्ष पहिले नै मदरसा शिक्षा सुरु भइसकेको थियो । मदरसा शिक्षा भनेको धार्मिक शिक्षा हो । हिन्दुहरूको गुरुकुल तथा पाठशाला जस्तै । तर गुरुकुल तथा पाठशालाहरूले त्यतिबेलै सरकारी मान्यता पाए, मदरसाहरूले भने भर्खर भर्खर सरकारी मान्यता पाउँदैछन् । वडाभित्र पर्ने गाउँहरूले आधुनिक शिक्षाको क्षेत्रमा भर्खर भर्खर प्रगति गर्दैछन् । मुस्लिम समुदायको बसोवास रहेकाले यहाँका बालबालिकाको प्रारम्भिक शिक्षा मदरसाबाटै सुरु हुन्छ, तर लामो समयसम्म मदरसा शिक्षालाई सरकारले मान्यता दिएन । त्यसकारण पनि हाम्रो समुदाय शैक्षिक क्षेत्रमा पछि प¥यो । वडामा एउटा पनि क्याम्पस छैन । दुईवटा सामुदायिक माध्यमिक विद्यालय छन् । एउटा प्रावि छ । एउटा बोर्डिङ स्कुल छ । मदरसा सातवटा छन् । यसमध्ये चारवटा नेपाल सरकारमा दर्ता भएका छन् । नेपाल सरकारमा दर्ता भएका मदरसाहरूमा चार कक्षासम्म पढाइ हुन्छ ।
महिलाहरूको शैक्षिक अवस्था अझै नाजुक छ । पहिले त पढाउने प्रचलन नै थिएन । २०४६ सालको परिवर्तनपछि छोरीलाई स्कुल पठाउन थालियो, तर ८ कक्षाभन्दा माथि कसैले पढेनन् । बालविवाहका कारण पनि यो समस्या आयो । अहिले छोरी बुहारीलाई पढ्न प्रोत्साहन गर्ने नीति गाविसले ल्याएको छ । ११–१२ कक्षा पढ्नेलाई निःशुल्क साइकल प्रदान गर्ने नीति ल्याइएपछि केही सकारात्मक संकेत देखिएको छ ।
अहिलेसम्म रनियापुर क्षेत्रबाट सरकारी जागिर पाउनेहरूको संख्या पाँचजना मात्रै छ । चारजना गाविस सचिव बनेका थिए । त्यसमध्ये एकजना माओवादीबाट मारिए, अरु तीनजनाले अवकाश पाएका छन् । लोकसेवा पास गरेर एकजना कृषि कार्यालयमा काम गर्दैछन् । महिलाहरूको शैक्षिक अवस्था अझै नाजुक छ । पहिले त पढाउने प्रचलन नै थिएन । २०४६ सालको परिवर्तनपछि छोरीलाई स्कुल पठाउन थालियो, तर ८ कक्षाभन्दा माथि कसैले पढेनन् । बालविवाहका कारण पनि यो समस्या आयो । अहिले छोरी बुहारीलाई पढ्न प्रोत्साहन गर्ने नीति गाविसले ल्याएको छ । ११–१२ कक्षा पढ्नेलाई निःशुल्क साइकल प्रदान गर्ने नीति ल्याइएपछि केही सकारात्मक संकेत देखिएको छ । मेरो जानकारीमा आएअनुसार क्याम्पसमा अध्यायनरत छात्राहरू यो वडाका मुस्लिम तथा मधेसी समुदायबाट २५–३० जनाभन्दा बढी छैनन् । हुनेखानेले नेपालगन्ज तथा काठमाडौंमा राखेर छोरी पढाएका पनि छन् । अहिलेसम्म १५–२० जनाले काठमाडौं गएर पढ्ने मौका पाएका छन् । दुईजनाले स्टाफ नर्स पास गरेका छन् ।
एउटा इँटा भट्टाबाहेक उद्योगधन्दाका नाममा केही पनि छैन । सिँचाइको अभावमा कृषि पेसा फस्टाउन सकेको छैन । भर्खर भर्खर सडक यातायातको सञ्जाल विस्तार भइरहेको छ । हुलाकी राजमार्गको खजुरा बजारदेखि पूर्वपश्चिम राजमार्गसम्म जोडिएको सडकखण्डमध्ये करिब चार किलोमिटर हाम्रै वडामा पर्छ । हाम्रो वडामा पिच सडक करिब ६ किलोमिटर होला । यसबाहेक सहायक सडकहरूको पनि निर्माण भइरहेको छ । आफ्नो पाँच वर्षे कार्यकालमा मुख्यमुख्य सडकहरू पक्की बनाइसक्ने मेरो योजना हो, तर पहिले नै पक्की सडक निर्माण भइसकेका वडामा र हाम्रो जस्तो प्लानिङ नभएको वडामा दामासाहीका दरले बराबर बजेट विनियोजन गरिँदा समस्या उत्पन्न भयो । गाउँपालिकाले यसरी बजेट विनियोजन गरिरहने हो भने हामी अरु वडाभन्दा सधंै विकासमा पछि पर्नेछौं ।
मुस्लिम तथा मधेसी समुदायको मुख्य चुनौतीका रूपमा बालविवाह पनि हो । तर बालविवाह दर्ता नै नगर्ने कानुन बनेको छ । यो कानुनबारे जनतालाई सचेत बनाउनु जरुरी छ । जन्मदर्ताको अभिलेख कम्प्युटरमै हुने भएकाले उमेर नपुगी गरिएको विवाहलाई कम्प्युटरको सफ्टवेयरले नै दर्ता गर्न मान्दैन । हिजो छोरीको विवाहको उमेरहद १६ वर्ष हुँदा त कार्यान्वयन गर्न मुस्किल परेको थियो भने अहिलेको कानुनले २० वर्ष कायम गरिदिएको छ । बाबुआमाको विवाह दर्ता नहुँदै जन्मेका सन्तानको जन्मदर्ताका सन्दर्भमा पनि समस्या देखिएको छ । यो समस्या समाधान हाम्रो बुत्तामा छैन । संघीय सरकारले नै निकास दिनुपर्ने हुन्छ । खजुरा गाउँपालिकाको वडा नम्बर ८ स्थित सयौं वर्ष पुरानो बर्गदीमा वरको रुख छ । त्यही ठाउँमा बर्गदीबाबाको समाधि पनि छ । पर्यटकीय हिसाबले यो ठाउँको महत्व छ भन्ने लाग्छ ।
हाम्रो वडाका ९० प्रतिशत जनसंख्याको मुख्य पेसा कृषि हो । धानगहुँ नै मुख्य बाली हुन् । दलित तथा थारु जातिसँग खेती गरेर खान पुग्ने जग्गाजमिन छैन । आफ्नो खेतीले खान नपुग्नेहरू जिमिन्दार कहाँ काम गर्न जान्छन् । हाम्रो वडामा माओवादीले पाँच कट्ठाका दरले जग्गा दिएर केही मुक्त कमैयालाई बसोवास गराइएको थियो । २०६४ को चुनावपछि करिब ४० प्रतिशत मुक्त कमैया कोहलपुर बसाइँ सरेका छन् । उनीहरूले उता पनि जग्गा पाएको सुनिएको छ ।
(खजुरा गाउँपालिका–८ का वडा अध्यक्ष फिरोज खानसँग भएको कुराकानीका आधारमा यो लेख तयार गरिएको हो ।)


