अफगानी तालिवान विद्रोहीलाई पाकिस्तानको आर्थिक र भौतिक सहयोग

अफगानी तालिवान विद्रोहीलाई पाकिस्तानको आर्थिक र भौतिक सहयोग तरुण खबर २९ श्रावण २०७८, शुक्रबार ०९:१०
अफगानी तालिवान विद्रोहीलाई पाकिस्तानको आर्थिक र भौतिक सहयोग

काठमाडौं । ३ करोड ९८ लाख ९७ हजार ८९९ जनसंख्या रहेको अफगानिस्तानकी राजदूतकी छोरीको अपहरणको घटना त्यतिखेर भएको छ जतिखेर पाकिस्तान र अफगानिस्तानका नेताबीच तनाव बढिरहेको थियो । अफगानिस्तानले पाकिस्तानमाथि तालिबानलाई सहयोग गरेको आरोप लगाएको छ । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले अफगानिस्तानमा लामो समयदेखि जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अफगानी तालीवानी समूहसँग भेटवार्ता गरेको दाबी गरेका छन् । यो वार्ता एक वर्ष अगाडी भएको हो ।

भेटमा शान्ति प्रक्रियामा भएका प्रगतिको जानकारी तालीवानी प्रतिनिधिले आफूलाई जानकारी गराएको र समग्र प्रक्रियाबारे कुराकानी भएको उनले बताएका थिए । कुरेशीले अफगानी तालिबान विद्रोहीद्वारा पाकिस्तान पठाएका प्रतिनिधिसँग दुई दिन पहिले अर्थात २०७७ भदौ १० गते भेट गरेका थिए । अफगानी तालीवान समूहका केही नेताहरू पाकिस्तानी क्षेत्रमा रहेका थिए । यसैले पनि तालिवान विद्रोहीलाई पाकिस्तानको आर्थिक, भौतिक र सामाजिक समर्थन थियो भन्न सकिन्छ । पाकिस्तानको जनसंख्या २२ करोड ५६ लाख ३९ हजार २१ रहेको छ ।

अफगानिस्तान र पाकिस्तानबीच अर्थात दुई देशका नेताबीच वाकयुद्ध पनि चलिरहेको छ । जुलाईमा मध्य तथा दक्षिण एसिया सम्पर्क सम्मेलनका बेला अफगानिस्तानका राष्ट्रपति अशरफ गनी छिमेकी देश पाकिस्तानका प्रधानमन्त्रीसँग केही फिटको दूरीमा उपस्थित भएका थिए । पाकिस्तानमाथि निशाना लगाउँदै त्यतिखेर उनले पाकिस्तानले चरमपन्थी समूहसँग सम्बन्ध नतोडेको बताएका थिए । गनीको बयान लगत्तै बोल्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ती आरोपबाट आफू निराश भएको बताएका थिए । अफगानिस्तानको दोस्रो ठूलो शहर कन्धहार पनि तालिवान विद्रोहीको कब्जमा गएको अपुष्ट समाचार आएको छ ।

पाकिस्तानस्थित अफगानिस्तानका राजदूत नजीबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिललाई जुलाई १६ तारिखमा अज्ञात हतियारधारीहरूले अपहरणको कोसिस गरेका थिए । उनलाई ती अपहरणकारीले केही समय नियन्त्रणमा लिएर कुटपिट गरेर भागेको बताइएको थियो । उक्त घटना भएको करिब एक महिनापश्चात् अफगान राजदूतले एक ट्वीट गर्दै आफ्नी छोरीले उक्त मामिलाबारे बोलेको कुरा राखेका छन् ।

अपहरण घटनाको विवरण
बीबीसीको समाचार अनुसार राजदूतले छोरीको फेसबुकको लिङ्क दिएका छन्, जसमा उनले आफ्नो परिचयका साथ उक्त दिनको घटनाको विवरण सुनाएकी छन् । अपहरणको घटना जुलाई १६ मा भयो । म आफ्नो भाइका निम्ति उपहार किन्न चाहन्थेँ । मैले घरबाट बजार जान भनेर ट्याक्सी डाकेँ । उपहार किनेपछि अर्को ट्याक्सी चढेर घर फर्कन चाहन्थेँ । अपहरणको घटना यही दोस्रो ट्याक्सीमा भयो । उनी भन्छिन्– ट्याक्सी चालकले अर्को एक व्यक्तिलाई पनि ट्याक्सीमा राखे । मैले यसरी अर्को यात्री नराख्न भनेर विरोध गरेँ । त्यतिनैबेला ती दोस्रा व्यक्तिले म तर्फ हेर्दै तिमी अफगान राजदूतको छोरी हो भन्दै मनपरी बोले र कुटपिट गर्न थाले । करिब तीनदेखि पाँच मिनेटसम्म यो सबै भयो र म बेहोस भएँ । होसमा आएपछि मलाई शारीरिक तथा मानसिक रूपमा प्रताडित गरियो । त्यसपछि मलाई घर पु¥याइयो र त्यहाँबाट अस्पताल पु¥याइयो, जहाँ पाकिस्तानका प्रहरी पनि थिए । लगत्तै उनीहरूले जाँचबुझ थाले । उनीहरूले पटक पटक प्रश्न दोहो¥याइरहे, मैले पटकपटक उही जबाफ दिइरहेँ ।

घटनापश्चात् अपनाइएको जाँचबुझ तथा मेडिकल जाँचका तौरतरिकाबारे प्रश्न उठाउँदै सिलसिला अलिखिल भन्छिन्– मलाई प्रताडित गरिएको हुनाले डाक्टरहरूले मेरो राम्ररी हेरविचार गर्छन् भन्ने लागेको थियो । अपहरणका मामिलामा पीडितहरूको शरीरमा विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ ताकि बेहोसीको समयमा के भएका थिए भन्ने जान्न सकियोस् । यसका निम्ति १२ देखि १८ घण्टा बीच रगत परीक्षण हुनुपर्छ । त्यसपछिको परीक्षणबाट थाहा पाउन सकिँदैन । तर मलाई थाहा छैन किन मेरा ती परीक्षण ठीकसँग गरिएनन् । त्यसबेला डाक्टरहरूले पनि घटनाको विवरणबारे सोधेको र त्यसले आफू आश्चर्यमा परेको उनले बताइन् । प्रहरीसँग पटकपटक घटनास्थल पुगेर विवरण दिएको उनको भनाइ छ ।

लगत्तै आफू टर्की गएको र घटनाको तीन–चार दिनपछि त्यहाँ सबै महत्वपूर्ण जाँच ठीक तरीकाले गरिएको उनले बताएकी छन् । अहिले शारीरिक रूपमा म ठीक छु तर मानसिक रूपमा ठीक हुन अझै समय लाग्छ किनभने अझैपनि हरेक रात म अचानक दुई तीनपल्ट ब्युँझन्छु र त्यतिखेर लाग्छ म उही घटनास्थलमा छु । उनले यस घटनासँग एक युवा अफगानको गरिमा, उनको परिवारको गरिमा, उनको देश अफगानिस्तानको गरिमासमेत जोडिएको हुनाले अफगान सरकारलाई यो मामिला गम्भीरतापूर्वक लिन आह्वान समेत गरेकी छन् । पाकिस्तानी अधिकारीहरूलाई पनि इमानदारीका साथ यसको छानबिन गर्न र अपराधीलाई ढिलो नगरिकन पक्राउ गरी सजाय दिलाउन उनले आह्वान गरेकी छन् । पाकिस्तानको प्रहरीले यसअघि अफगानिस्तानका राजदूतकी छोरीलाई अज्ञात हतियारधारीहरूले अपहरण गर्ने कोसिस गरेको तर सफल हुन नसकेपछि हिंसा गरेर भागेको बताएको थियो ।