तरुण खबर
२९ श्रावण २०७८, शुक्रबार ०९:१२
काठमाडौं । आज घर घरका ढोकामा नागको तस्विर टासेर नागपञ्चमी मनाइन्छ । यो पर्व श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यस दिनमा नागको पूजा गर्ने गरिन्छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व पनि हो । यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गर्ने गरिन्छ ।
नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, पूmल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम शुरू भएको पनि मान्ने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।
नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको द्वार (ढोका)मा टाँस्नाले सर्पको भय हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । पश्चिम नेपालका दैलेख, अछाम, कालिकोट, आदी जिल्लाहरूमा नाग पञ्चमीका दिनदेखि हिउँद ऋतु शुरू हुन्छ भन्ने जनमान्यता रहेको छ । नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, गङ्गटो, बिच्छी जस्ता बिषालु जीवहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुहरूले व्रत गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ । नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला पनि लाग्ने गरेका छ । नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ ।
के नाग पूजा गर्नाले सर्प भय हुदैन त ?
हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ । यस्तै हिन्दूहरूले प्रत्येक वर्षको श्रावण महिना शुक्ल पक्षको पञ्चमी तिथिमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ । यो पर्व वर्षायाममा पर्ने भएकाले सर्प, बिच्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो । सर्पहरूलाई दुध पच्दैन (पाचन प्रक्रियामा समस्या आई मृत्युसम्म हुन सक्ने) भन्ने कुरा पनि छ र घरको ढोकामा नाग टास्दा दुध चडाइन्छ, त्यसैले सर्प दुधको गन्धको कारण ढोकाबाट प्रबेश गर्दैन भन्ने कुरो पनि छ । हिन्दू धर्मको मान्यता अनुसार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन्, त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर, भय हुँदैन भन्ने मान्यता सत्य होस् अथवा नहोस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन् । यसरी घरआँगन सफा भएर घर वरपर सफा भयो भने सर्पहरूको डर कम हुने भयो । यस कारण नागपञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्ने कुरा सत्य मानिन्छ ।


