तरुण खबर
३१ श्रावण २०७८, आईतवार ०९:१८
कुनै समयको हेलम्बुको कुटुङसाङ, तार्केघ्याङ, मेलाम्ची घ्याङ, बघाम घ्याङ, सेर्माथाङ चर्चित पर्यटकीय गन्तव्य हुन् । माओवादी युद्ध र २०७२ साल बैशाख ११ मा आएको भूकम्पले पर्यटन व्यवसायीहरु नै संकटमा परेका छन् । माओवादी जनयुद्ध शुरु हुनुअघि दैनिक हेलम्बुमा दुई सय विदेशी पर्यटक आउने कुटुङसाङकी एक होटल व्यवसायीले मलाई जानकारी दिइन् । विदेशी पर्यटकहरु यी स्थानहरुमा शुन्य नै छन् भन्दा हुन्छ ।
हाम्रो टोली भेमाथाङ जाने भएपछि हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले क्षमापूजाका लागि लामा गुरुहरुलाई पठाउँनु भएको थियो । उनीहरुले थप बाढी पहिरो नजाओस् भनेर क्षमापूजा गरेका हुन् । हामीले कहिल्यै पनि सोचेका थिएनौँ, मेलम्चीमा आएको बाढीले यति धेरै क्षति पु¥याउला भनेर । अहिले जुन ठाउँबाट बाढी आएको छ, त्यो ठाउँमा म पटक पटक पुगेको छु । यो बाढी पहिरो पछि पनि खानी विभागका भूगर्वविद्हरुसँगै फेरी एक पटक पथप्रदर्शकको रूपमा त्यहाँ पुग्ने अवसर मलाईं जु-यो ।

अहिले मेलम्चीमा आएको बाढीको प्रमुख स्रोतको रूपमा रहेको भेमाथाङमा हामी यसअघि गत चैतमा पुगेका थियौं । हेलम्बको तार्केघ्याङबाट आमायाग्री हुँदै जादा पनि भेमाथाङ दुई दिनभर हिड्नु पर्छ । भेमाथाङ करिब ३६ सय मिटरको उचाइमा रहेको बलौटे घाँसे मैदान थियो । खासमा हेलम्बु क्षेत्रमा सडक पुगेपछि पदमार्गहरू मासिएका छन् । हेलम्बुमा पर्यटक आउन छाडेको सन्दर्भमा छलफलहरू हुँदै गर्दा कोरोनाको कहर शुरु भएको थियो । एक जना पथप्रदर्शकको रूपमा हाम्रो काम पनि ठप्प भयो । अनि हेलम्बु गाउँपालिकासँग मिलेर हामीले ‘अपर हेलम्बु सर्किट’ नयाँ पदमार्गको रूपमा खोजी तथा प्रवदर्धन गर्दै थियौँ । यही कामका लागि गत चैतमा भेमाथाङ पुगेको थिएँ म ।त्यसपछिको दुई महिना बित्दा नबित्दै त्यही स्थानबाट ठूलो बाढी आएर मेरो गाउँ बस्ती नै ध्वस्त बनायो, आपूm जन्मे–हुर्केको, खाइखेली गरेको, गाई गोठालो गएको मेरो प्यारो गाउँ ध्वस्त बनाउँदा कस्को मन नरोला र ? । भेमाथाङ यसरी बग्ने छ भन्ने हामीलाई लागेको पनि थिएन । त्यसैले फेरी एक पटक पुगेर के भएको रहेछ, कहाँबाट पहिरो र बाढी सुरु भएको रहेछ हेर्ने मन थियो । संयोग, जाने अबसर मिल्यो । त्यसका लागि सम्बन्धित निकायलाई हार्दिक धन्यावाद दिन्छु ।

त्यती बेला खानी विभागबाट त्यहाँ अध्ययनका लागि जान लागेका भूगर्वविद्हरुलाई गाइड गरिदिनको लागि अनुरोध आयो, मैले सहर्ष स्वीकार गरी हालें । त्यसैले, २०७८ साउन २२ गते शुक्रबार यही टोलीमा मिसिएर फेरी एक पटक भेमाथाङ र त्यो भन्दामाथिको क्षेत्र भ्रमण गर्ने अवसर मिल्यो । टोलीमा वर्ड बैंक विकास भुसाललगाएत ३ जना युवा सरहरु र भूगर्भविद् शिव बास्कोटा र गौतम खनाल सरहरु जानु भएको थियो । टिममा हामी ६ जना गएका थियौं, तीन रात पाल मुनी सुतेर फर्कियौं । पालमुनी के भन्नु पानीकै आहाल जाग्राम बसेर म फर्किएँ । हाम्रो टोलीका सरहरु बिहान ६ बजे काम निश्किसक्नु हुन्थ्यो । लञ्च–डिनर जे भने पनि चिया र बिस्कुट हो । हामीले खाना रुपमा ड्राइफुड लगेका थियौ । चाउचाउ, च्यूरा, विस्कुट, काजु, बदाम र रेडिमेट रोटी लगेका थियौं ।

वल्र्ड बैंकको तर्फबाट जानु भएको टोलीले ड्रोन लिएर जानु भएको थियो । उहाँहरुले मेमाथाङ खेला र मेलाम्ची खोलाको ड्रोनमार्फत यी दुई खोलाको विभिन्न पोजको तस्विरहरु लिनु भएको थियो । भेमाथाङ चौरमा तीन रात सुत्यौं, एक रात मेलाम्ची घ्याङमा सुत्यौं ।
बाढी पहिरोको कारणहरूका बारेमा अध्ययनमा जानु भएका भूगर्वविद्हरुले आधिकारिक रूपमा भन्नु नै होला, उहाँहरुको आज साउन ३१ गते आइतबार सिंहदवारमा ब्रिफ्रिङ गर्ने तयारी छ । तर यहाँ मैले मैले देखेको र मलाई लागेको कुराहरु सरसरती बताउन गइरहेको छु । भेमाथाङ झन्डै एक किलो मिटर लामो बलौटे घाँसे चौर हो । हामी ह्योल्मोहरुको यो स्थानसँग विशेष लगाव छ । घह्रौं घ्याल्मो र छु याला ग्याल्जेन खोला मिसिएर चौरको बीच भाग हुँदै बग्थ्यो । त्यो खोला करिब ४० डिग्रीमा भेमाथाङबाट तल खस्थ्यो । त्यही खोलालाई तल आएपछि मेलम्ची खोला भनिन्थ्यो । मेमाथाङ चौर डेढ किलोमिटर लम्बाइ र चौडाइ करिब ६ सय मिटर छ । त्यो चौर सुन्दर बगरमा परिणत भएको छ । मेरो विचारमा वर्ड वार्मिङको प्रभावका कारण हेलम्बुमा बाडी आएको हो कि जस्तो लाग्छ ।

चौरको एक छेउमा लामाहरूले तपस्या गर्ने दुई वटा गुफाहरू छन्, गुफा दुई कोठे आकारको छ । त्यही गुफाको नजिकमा एउटा स्तुपा निर्माण गरिएको छ । त्यहाँ जानेहरूले त्यहाँ पुजाआजसमेत गर्ने गर्छन् । यस ठाउँलाई पवित्र धार्मिक स्थलको रूपमा लिइन्छ । यहाँ लामाहरू गुफा बस्न जाने गर्दथे, तर साइत हेराएर मात्र जानु पर्ने भएको र कठिन अवस्था व्यहोर्नु पर्ने भएकाले पनि अहिले गुफा बस्न जानेहरु धेरै कम भएका छन् । एक जना काठमाडौँको शाक्य बुद्धिष्ट लामाले १३ वर्ष त्यही गुफामा तपस्या गरेको बताइन्छ । यस ठाउँको पहिचान छोटेन रिम्पोछेले गराउनु भएको हो ।
त्यो भेमाथाङ चौर यति बेला पुरानो स्वरूपमा छैन । यहाँ औषतमा आठ मिटर जति बाक्लो लेदो जमेको छ । छेउमा रहेको १८ फिट अग्लो स्तुपा तीन फिट जति मात्र देखिएको छ । बीच भागमा बग्ने खोला अहिले छेउतिर सरेको छ । खासमा घह्रौं घ्याल्मो खोलामा ठूलो बाढी आएको हुँदा त्यसले अर्को कुनोतिर पानीको बहाव धकेलेको देख्न सकिन्छ । अनि गुफाहरू पनि माथिबाटै चर्किएका छन्, जुन सुकै बेला गुफाहरू पुरिन सक्छ ।

बाढी चाँही भेमाथाङबाट सुरु भएको जस्तो देखिन्न । बाढी त्यो भन्दा माथि ग्लसियर फुटेर आएको देखिन्छ । विशेष गरेर घह्रौं घ्याल्मो खोलातिरबाट आएको स्पष्ट हुन्छ । छु याला ग्याल्जेन खोलातिरबाट भने अलि सानो मात्र बाढी आएको देखिन्छ । भेमाथाङबाट करिब ७÷८ किलोमिटर माथि ग्लसियरबाट सुरु भएको बाढीले बगाएर ल्याएको लेदो भेमाथाङको चौरमा थुप्रिएको देखिन्छ । त्यो दबाब थेग्न नसकेपछि भेमाथाङ चौर आफै पनि बग्न थाल्यो भन्न सकिन्छ । झन्डै एक सय मिटर जति बगेको देखिन्छ । मेरो बिचारमा भेमाथाङ चौरले त्यो लेदोलाई थेग्रिन नदिएको भए सायद तलतिर अहिले भएको भन्दा पनि ठूलो क्षति हुन्थ्यो होला अर्थात हेलम्बुदेखि काभ्रेको दोलालघाटसम्मका सबै भौतिक संरचना बाडीले बगाउँथ्यो ।
मनसुन सकिएको छैन, अझै एक महिना बाँकी छ । विगतमा धेरै बाढी पहिरो भदौमा जाने गर्दथ्यो । त्यो हिसावले हेर्ने हो भने अझै मेलम्ची वरिपरिका बस्तीहरू सुरक्षित छैनन् । जुन सुकै बेला ठूलो पानी प¥यो भने मेमाथाङमा थुप्रिएर बसेको लेदो बग्न सक्छ । त्यस बेला अझ ठूलो बाढी आउन सक्ने सम्भावना अझै छ । अहिले पनि अलि अलि भेमाथाङ र त्यो भन्दा माथि पहिरोहरू झरिरहेकै छन् । त्यस क्षेत्रको भूमि थिलथिलो भएको देखिन्छ ।

धेरैले यस क्षेत्रको सबैभन्दा माथि ४,२७० मिटरको उचाइमा रहेको दूध पोखरी फुटेर बाढी आएको हो कि भन्ने अनुमान गरिरहेका छन् । तर होइन, दूध पोखरी सुरक्षित नै रहेको छ । हिमालको दुवैतिरबाट पहिरो खस्दै गरेको भएर हामी धेरै माथि ग्लसियरहरुमा जान त सकेनौँ तर पैदल हिड्दा ३–४ घण्टामा पुगिने भेडा खर्क भन्ने ठाउँसम्म पुगेर अवलोकन ग¥यौं । भेमाथाङ भन्दा माथि दुवै खोलातिर भेमाथाङ जस्तै भ्याली छ । त्यसैले पनि जुन सुकै बेला फेरी बाढी र पहिरोको प्रकोप हुने छैन भनेर ढुक्क हुन सकिने अवस्था छैन । त्यसैले सजग रहनु पर्ने देखिन्छ ।

कामना गर्न सकिन्छ, अव यस्तो विपत्ति कहिल्यै नआओस् । भेमाथाङ पुरिएको र केही भाग बगेको भए पनि हामीले खोजी गरेको ‘अपर हेलम्बु सर्किट’ को पदमार्ग भने सुरक्षित नै रहेको छ । बर्खा याम सकिएपछि त्यस क्षेत्रको भूगोलको अध्ययन अवलोकन तथा प्राकृतिक सौन्दर्यको अवलोकनको लागि जान सकिने देखिन्छ । काकाकुल काठमाडौंबासीको खानेपानी पाउँने सपनासँग जोडिएको मेलम्ची खानेपानीको भविष्य नै अनिश्चित बनाएको छ बाढीले । मेलाम्चीको बाडीको उद्गमस्थलको अवलोकन गर्न चाहनेहरूले आफ्नो उद्देश्य त पुरा गर्ने छन् नै साथै छोटो अवधिमा नै हिमाली क्षेत्रको अनुपम प्राकृतिक सौन्दर्यसँग पनि साक्षात्कार हुने अवसर पनि मिल्ने छ ।

(हेलम्बुको सेर्माथाङका स्थायी बासिन्दा सोनाम लामा १६ वर्षदेखि नै पर्वतीय पथप्रदर्शकको काम गरिरहेका छन् । सोनाम २०७८, साउन २२ गते भूगर्भविद्हरुलाई लिएर भेमाथाङ गएका थिए । साउन ३० गते शनिबार परशु घिमिरेले सोनामसँग कुराकानी गरेको थिए, त्यसैका आधारमा लेख तयार पारिएको हो । तस्बिरहरुको स्रोत: सोनाम लामा


