बजेट कार्यान्वयनमा तीनै तहको सरकारबीच साझेदारिताको आवश्यकता

बजेट कार्यान्वयनमा तीनै तहको सरकारबीच साझेदारिताको आवश्यकता तरुण खबर ७ फाल्गुन २०७७, शुक्रबार १०:५०
बजेट कार्यान्वयनमा तीनै तहको सरकारबीच साझेदारिताको आवश्यकता

हेमराज लामिछाने

प्रदेश सरकारबाट स्थानीय तहलाई दिइने वित्तीय समानीकरण अनुदानबाहेकका अन्य हस्तान्तरणका रकमहरू सोही आर्थिक बर्षमा खर्च हुन नसकेमा सम्वन्धित स्थानीय तहले यस्तो रकम फिर्ता गर्नुपर्ने र फिर्ता नगरेको अवस्थामा आगामी आर्थिक वर्षमा दिइने अनुदानबाट कट्टा गर्ने नीति अति नै प्रशंसनीय छ । यस किसिमको नीति कार्यान्वयन हुन सकेमा स्थानीय तहलाई निर्धारित समयमा खर्च गरी जनतालाई सेवा प्रवाह गर्न दबाब सिर्जना हुने र उनीहरूलाई जनताप्रति थप उत्तरदायी हुन प्रेरित गर्ने विश्वास गर्न सकिन्छ ।

आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहको शिक्षा निःशुल्क पाउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्न सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता नीति तथा कार्यक्रमले लिएको छ । यो कार्यक्रमले सार्थकता प्राप्त गर्न पर्याप्त बजेट, जनचेतनामूलक कार्यक्रम, जनशक्ति र विद्यालयहरूको पूर्वाधार विकासमा लगानीको खाँचो हुन्छ । अब आधारभूत शिक्षाभन्दा माथि उठेर गुणस्तरीय शिक्षाको पहुँचमा सबै बालबालिकाहरूलाई पु¥याउन प्रदेश र स्थानीय तहबीचको सहकार्य अपरिहार्य देखिन्छ । विगत तीन वर्षका अनुभवका आधारमा विश्लेषण गर्नुपर्दा तीनै तहका सरकारहरूकाबीचमा संविधानको मर्मअनुसारको समन्वय र सहकार्य हुन सकेको   देखिँदैन । यदि आगामी दिनमा पनि यो अवस्थामा सुधार आउन सकेन भने प्रदेश सरकारले लिएका नीति तथा कार्यक्रमहरूबाट अपेक्षित नतिजा हासिल हुन नसक्ने प्रबल सम्भावना रहन्छ । तसर्थ, यस्तो चुनौतीबाट पाठ सिकेर आगामी वर्षमा सार्थक समन्वय र सहकार्यको वातावरण बन्न जरुरी हुन्छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमले स्थानीय तह (गाउँपालिका र नगरपालिका) सँगको सहकार्यलाई प्राथमिकतामा राखेको भए तापनि संविधानतः गठन भएका जिल्ला समन्वय समितिहरूको भूमिकालाई थप स्पष्ट पार्ने र जिल्ला समन्वय समितिलाई संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दिएको जिम्मेवारी पूरा गर्नसमेत प्रदेश सरकारको ऐन, नीति तथा कार्यक्रमले थप बलियो बनाउनुपर्ने हुन्छ । तर, नीति तथा कार्यक्रमले जिल्ला समन्वय समितिको भूमिकाका बारेमा कतै केही बोलेको देखिएन । संविधानले जिल्ला समन्वय समितिलाई दिएको समन्वय र अनुगमन गर्ने जिम्मेवारीलाई बढी बस्तुपरक बनाउन प्रदेश सरकारको महत्वपूर्ण भूमिका हुने हुँदा यसतर्फ प्रदेश सरकारको बजेट तथा कार्यक्रमले सम्बोधन गर्न आवश्यक देखिन्छ । अन्यथा, नीति तथा कार्यक्रमले लिएको स्थानीय तहहरूसँगको सहकार्यको कुरा व्यवहारमा उतार्न कठिन हुनेछ ।

विगत वर्षहरूको तुलना र वर्तमान असहज आर्थिक अवस्थाका बीचमा प्रस्तुत नेपाल सरकारको बजेटको आकार सन्तुलित देखिन्छ । कोरोनाको कारण कमजोर भएको नेपालको अर्थतन्त्रमा केही चुनौती त अवश्य पनि छन्, तथापि विगत वर्षको अनुभवका आधारमा आगामी आर्थिक बर्षको लागि सरकारले अनुमान गरेको राजश्व व्यावहारिक नै देखिन्छ । श्रमजीवी कहिले काममा फर्कने र लगानीकर्तालाई लगानीको वातावरण कसरी र कहिले बन्ला भन्ने अन्योलताको बीचमा नेपाल सरकारको बजेट सार्वजनिक भएको छ, तथापि सरकारले आगामी आर्थिक वर्षमा वर्तमान असहज परिस्थिति सामान्य हुन्छ भन्ने अनुमान गरेको देखिन्छ ।

श्रमजीवी कहिले काममा फर्कने र लगानीकर्तालाई लगानीको वातावरण कसरी र कहिले बन्ला भन्ने अन्योलताको बीचमा नेपाल सरकारको बजेट सार्वजनिक हुँदै आएको छ । 

सरकारले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहवीचको सहकार्य, समन्वय र साझेदारीमा जोड दिएको छ । तसर्थ, समग्रमा बजेट कार्यान्वयनका लागि तीनै तहको सरकार वीचको सहकार्य, समन्वय र साझेदारीलाई व्यावहारिक बनाएर कार्यदक्षता बढाउन जरुरी छ । बजेटले लिएको प्राथमिकता व्यावहारिक नै देखिन्छ । तथापि सरकारको लागि कार्यान्वयन पक्ष चुनौतीपूर्ण भएकाले आर्थिक वर्षको सुरुदेखि नै कार्यान्वयनमा जोड दिन जरुरी छ । प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम र प्रधानमन्त्री रोजगार जस्ता महत्वाकांक्षी कार्यक्रमहरूमा पर्याप्त बजेट विनियोजन गरिएको छ । यी कार्यक्रमहरूमा विनियोजित बजेटको यथार्थपरक परिचालनले मात्रै रोजगार सिर्जनामा योगदान गर्ने हुँदा यसमा सरकारको गम्भीर ध्यान पुग्न जरुरी छ । यसैगरी, सरकारले सकेमा अझै पनि साधारण खर्च कटौती गरी आन्तरिक ऋण कम गर्नु बुद्धिमानी देखिन्छ ।

स्थानीय तहको प्रभावकारिताका लागि गर्नुपर्ने थप पहलहरू
करिब करिब तीन आर्थिक वर्षको अनुभवका आधारमा स्थानीय तहको सेवाप्रवाहलाई जनमुखी र प्रभावकारी बनाउन थप कार्य गर्नुपर्ने देखिन्छ । सबै स्थानीय तहहरूले आ–आफ्नो पालिकाको पाश्र्वचित्र निर्माण तथा अद्यावधिक गरी सोहीका आधारमा आवधिक योजना तर्जुमा गर्नुपर्ने र आवधिक योजनाअनुसारको वार्षिक योजना तर्जुमा गर्ने पद्धतिको पूर्णरूपमा पालना गर्नुपर्दछ । यसले स्थानीय तहमा सूचनामा आधारित नतिजामुखी योजना तर्जुमा र कार्यान्वयन हुन गई स्थानीय सरकारको निष्पक्षता, पारदर्शिता र इमान्दारिता झल्कन्छ, जसले सामाजिक जवाफदेहीता अभिवृद्धिमा समेत सहयोग पुग्दछ । यसैगरी, स्थानीय तहलाई प्राप्त वित्तीय अधिकारको पूर्ण कार्यान्वयन गरी वित्तीय परनिर्भरता न्यून गर्न स्थानीय सरकारहरूले राजश्व क्षमताको पहिचान गर्नु अपरिहार्य हुन्छ । यसका लागि सबै स्थानीय तहहरूमा उपाध्यक्ष तथा उपप्रमुखको संयोकत्वमा गठित स्थानीय राजश्व परामर्श समितिको क्षमता विकास र क्रियाशीलतामा अभिवृद्धिको आवश्यकता पर्दछ । सोका लागि सबै स्थानीतहरूले राजश्व सुधार योजना तर्जुमा गरी राजस्वको शीर्षकगत करदाताहरूको तथ्यांक अद्यावधिक गर्नु आवश्यक पर्दछ । यस किसिमको प्र्रयासले सम्बन्धित पालिकाहरूको राजश्व क्षमताको आकलन गर्न सहज हुन्छ ।

सबै पालिकाहरूले संगठन संरचनासम्बन्धी अध्ययन गरी सोहीका आधारमा कर्मचारीको व्यवस्थापन गर्ने र हरेक दरबन्दीको स्पष्टसँग कार्यजिम्मेवारी तोकी कर्मचारीलाई जवाफदेही बनाउन आवश्यक छ । यसैका आधारमा कर्मचारीहरूसँग कार्यसम्पादन करार गरी नियमित रूपमा उनीहरूको कार्यसम्पादनको मूल्यांकन गर्ने र पुरस्कार र दण्डको व्यवस्था कडाईका साथ लागू गर्न अति आवश्यक छ । समाजमा रहेका अनाथ, ज्येष्ठ नागरिक, कमजोर वर्ग, दुःखी, असहाय, सहाराविहीन महिला र बालबालिकाहरूलाई उनीहरूको आर्थिक र सामाजिक क्षेत्रको विकासका लागि आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा जोड दिन आवश्यक छ ।

स्थानीय सरकारले कानुनतः असार मसान्तभित्रमा आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सम्बन्धित गाउँ तथा नगर सभाबाट पारित गर्नु पर्दछ । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्टि गरेको विवरणको आधारमा आ.व. २०७७÷७८ का लागि प्रदेश १ अन्तरगत एउटा (तेह्रथुमको मेन्छयायेम गाउँपालिका) र प्रदेश २ अन्तर्गत १६ वटा (सप्तरीको छिन्नमस्ता र राजगढ, सिरहाको लक्ष्मीपुर पतारी, धनुषाको धनौजी, पर्साको जगन्नाथपुर र सखुवा प्रसौनी गाउँपालिका, सिरहाको मिर्चैया, धनुषाको गणेशमान चारनाथ, कमला, मिथिला विहारी, रौतहटको राजदेवी, कटहरिया, देवानी गोनाही, फतुवा विजयपुुर, बौधीमाई, पर्साको पोखरीया, नगरपालिकाहरूले वार्षिक बजेट तथा कार्यक्रम बनाउन सकेका छैनन् ।

अन्त्यमा, स्थानीय सरकारले संविधानअनुसार प्राप्त अधिकार क्षेत्रभित्र रही पूर्ण रूपमा काम गर्नका लागि जिम्मेवारीलाई थप वर्गीकरण र सरलीकृत गर्नुपर्ने देखिन्छ भने संघीय र प्रदेशका विषयगत कार्यालयहरू पालिकास्तरमा स्थापना गर्दा आवश्यकतानुसार समन्वय हुन नसक्ने र यसले काममा दोहोरोपना हुन सक्ने सम्भावनासमेत पर्याप्त हुने देखिएको छ । तसर्थ, स्थानीय सरकारलाई थप जिम्मेवार बनाउन उनीहरूको संस्थागत विकासमा जोड दिने र जिल्ला समन्वय समितिको समन्वयकारी भूमिका प्रभावकारी बनाउन आवश्यक हुन्छ । समाप्त ।